युक्रेन युद्धले महँगिएको खनिज तेलको भाउ लगातार ओरालो, नेपालमा पनि सस्तिएला पेट्रोलियम ? « Arthapath.com
२५ श्रावण २०७९, बुधबार

युक्रेन युद्धले महँगिएको खनिज तेलको भाउ लगातार ओरालो, नेपालमा पनि सस्तिएला पेट्रोलियम ?



काठमाडौं । युक्रेन युद्ध सुरुभए यता उकालो लागेको कच्चा तेलको भाउ अहिले तीव्र दरमा सस्तिन थालेको छ । अमेरिका र फ्रान्सले साउदी अरबसँग निरन्तर अनुरोध गरेपछि खनिज तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक प्लसले गत बुधबार कच्चा तेलको उत्पादन दैनिक १ लाख ब्यारेल वा विश्वब्यापी मागको शून्य दशमलव १ प्रतिशत बढाउने सहमति गरेको थियो । पश्चिमा देशहरुले इरानजस्तै रुसबाट पनि तेल नकिन्ने भनेपछि विश्व बजारमा कच्चा तेलको आपूर्ति नै घटेको थियो ।

यसले कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय ३० डलरभन्दा माथि पुगेको थियो । तेलको उत्पादन बढाउने खबर आउनासाथ सेप्टेम्बर कन्ट्रयाक्टको ब्रेण्ट क्रुडको भाउ प्रतिब्यारेल ९३ डलरको नजिक झरेको थियो । अहिले यस्तो कच्चा तेलको भाउ ९६ डलर प्रतिब्यारेल छ । तेलको भाउ महँगो हुँदा संसारभर महँगी चुलिएको छ भने युरोप र अमेरिका नयाँ मन्दीमा जाने संभावना बढेको छ । पश्चिमा राष्ट्रको अर्थतन्त्र मन्दीमा गयो भने यसले पेट्रोलियमा खपत झनै कम गराउने र भविष्यमा पेट्रोलियम पदार्थको मूल्य युक्रेन युद्धभन्दा अघिकै अवस्थामा फर्कने आँकलन हुन थालेको छ ।

नेपालमा पहिलेभन्दा सस्तो मोलमै पेट्रोलियम पदार्थ पाइएको भए पनि विगतको ठूलो ऋण भार पूर्ति गर्न भनेर सरकार र आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम सस्तिँदै गए केही महिनापछि नेपालमा पनि डिजेल र पेट्रोल सस्तो हुने छ । यतिञ्जेलमा आयल निगमको करीब ३३ अर्ब सञ्चित घाटा पनि पूर्ति हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्