६६ अर्ब डलर ब्रान्ड भ्याल्यू भएको टिकटकमाथि किन लाग्न थाल्यो अन्तर्राष्ट्रिय प्रतिबन्ध ? « Arthapath.com
१४ चैत्र २०७९, मंगलवार

६६ अर्ब डलर ब्रान्ड भ्याल्यू भएको टिकटकमाथि किन लाग्न थाल्यो अन्तर्राष्ट्रिय प्रतिबन्ध ?



काठमाडौं । केवल ६ वर्षअघि एउटा चिनियाँ कम्पनी ‘बाइट डान्स’ (जुन कम्पनी १० वर्षअघि स्थापना भएको हो) सुरु गरेको टिकटक नेपालमा सर्वाधिक लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म हो । चिनियाँ नागरिक चङ आइमिङले अर्थात् २०१२ मा बाइटडान्स स्थापना गरेपछि टिकटकको जन्म भएको थियो ।

यसलाई सुरुमा लामो भिडियो सेयर गर्ने युट्युबकै छोटो रूप हुन सक्ने आकलन गरिएको थियो । तर अचेल फेसबुकजस्ता अन्य सामाजिक सञ्जालमा पनि यसको अन्तर आबद्धता व्यापक मात्रामा बढेको छ । सन् २०२१ मा १८.७५ अर्ब डलर रहेको टिकटकको ब्रान्ड भ्याल्यू २०२२ मा ५८.९८ अर्ब र यो साल ६५.७ अर्ब डलर पुगेको स्टाटिस्टाले उल्लेख गरेको छ ।

भारतले सबैभन्दा पहिले सन् २०२० मा टिकटक र वीच्याट लगायत दर्जनौँ चिनियाँ एपहरू प्रतिबन्ध लगाएको थियो । लद्दाखमा २० जना भारतीय सेना मारिएको घटनापछि भारतले यस खाले कदम चालेको थियो । २०२२ को डिसेम्बरमा ताइवानले पनि राष्ट्रिय सुरक्षा प्रभावित भएको भन्दै सार्वजनिक पद धारण गरेको व्यक्तिले चलाउने मोबाइल, ल्यापटप, कम्प्युटर आदिमा टिकटक सहितका चिनियाँ एप नचल्ने गरी बन्द गरेको थियो ।

अमेरिकाको सङ्घीय सरकारले पनि मार्चको पहिलो साता नै सरकारी डिभाइसबाट ३० दिनभित्र टिकटक डिलिट गरिसक्न भनेका छ । अमेरिकाका ५१ मध्ये आधाभन्दा धेरै राज्यहरूले पनि टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् । अमेरिकी उक्त निर्णय पछि क्यानडाले पनि टिकटकमा प्रतिबन्ध गरिसकेको छ । यी देशले आम मानिसका लागि भन्दा पनि सरकारी काममा प्रयोग हुने डिभाइसमा मात्रै प्रतिबन्ध गरेका हुन् ।

यही सिलसिलामा बेलायत, नेदरल्याण्ड, बेल्जियम, न्यु जिल्यान्ड र जोर्डनले पनि टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । हालै मात्र फ्रान्सले पनि सरकारी कर्मचारी र पदाधिकारीलाई सरकारी प्रयोजनमा उपयोग हुने मोबाइल, ल्यापटप आदी डिभाइसमा टिकटक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ ।

युरोपेली सङ्घको संसद्ले पनि गत मार्च २० देखि टिकटकमा प्रतिबन्ध लगाइसकेको छ । चीनको रणनीतिक साझेदार भनिएको पाकिस्तानमै पनि २०२० को अक्टोबर यता कम्तीमा चार पटक अस्थायी प्रतिबन्ध गरिसकेका छन् । पाकिस्तानी नियामकका अनुसार यो एपले समाजमा अनैतिक सामग्री फैलाएका कारण बारम्बार बन्द गर्नु परेको हो । अफगानिस्तानमा तालीवान् नेतृत्वले आफ्नो देशका युवाहरूलाई ‘भ्रमित हुनबाट बचाउन’ भन्दै २०२२ मा टिकटक र पबजीमाथि प्रतिबन्ध गरेको छ ।

टिकटकले आफूसँग भएको तथ्याङ्क र विवरणहरू सरकारलाई उपलब्ध गराउने भन्दै पश्चिमा मुलुकहरूले यसबाट राष्ट्रिय सुरक्षामै चिन्ता उत्पन्न भएको बताउँदै आएका छन् । गत नोभेम्बर २०२२ मा अमेरिकी खुफिया संस्था ‘फेडेरल ब्युरो अफ इन्भेष्टिगेशन–एफबीआई’का निर्देशक क्रिस्टोफर व्रवेले ‘टिकटकका कारण राष्ट्रिय सुरक्षा धरापमा परेको’ भनेपछि उक्त एपमाथि प्रतिबन्ध लगाउने लहर चलेको छ ।

सिंगापुर र अमेरिकाको लस–एन्जलसमा समेत मुख्य कार्यालय खोलेर व्यापार विस्तार गरिरहेको टिकटकका लागि यो घटना एक दुर्भाग्य साबित हुँदै गएको छ । कतिपयले भने यसलाई अमेरिकाको ‘बार्गेनिङ’को रूपमा पनि लिएका छन् । छोटो समयमा विश्वभर राम्रो पकड स्थापित गर्न सफल भएको यो एप ‘कि हामीलाई बेच, नभए प्रतिबन्ध लगाउँछु’ भनेर अमेरिकाले धम्की दिन खोजेको रूपमा पनि धेरैले लिएका छन् । अन्य देशले तत्काल लागू हुने गरी बन्द गरिरहँदा अमेरिकाले ३० दिनको भाखा राख्नुमा पनि यो मोलमोलाइको कारण भएको धेरैको बुझाई छ ।

एजेन्सीको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्