साउदी अरबमा ७२ वर्षपछि खुल्दैछ मदिराको दोकान, कसले किन्न पाउँछ ? « Arthapath.com
१३ माघ २०८०, शनिबार

साउदी अरबमा ७२ वर्षपछि खुल्दैछ मदिराको दोकान, कसले किन्न पाउँछ ?



काठमाडौं । नेपालीहरू ठूलो संख्यामा वैदेशिक रोजगारीका लागि जाने देश साउदी अरबमा ७० वर्षपछि पहिलो मदिरा पसल खुल्ने भएको छ । राजधानि रियादमा केही साताभित्रै मदिरा पसल खोल्न लागिएको पश्चिमा सञ्चार संस्थाहरूले उल्लेख गरेका छन् ।

नयाँ नियम अनुसार साउदीको पसलबाट गैरमुस्लिम कूटनीतिज्ञहरूले मात्रै मदिरा किन्न पाउने छन् । तोकिएका पसलमा गएर मदिरा किन्न साउदीले विशेष नियमहरू तोकेको छ ।

  • मदिरा किन्न इच्छुक कूटनीतिज्ञले पहिले नै नाम दर्ता गराएर सरकारबाट अनुमति लिनु पर्ने छ ।
  • २१ वर्ष मुनिका कसैलाई पनि पसलभित्र प्रवेश निषेध हुने छ । पसलमा वस्दा ‘उचित पोषाक’ लगाउनु पर्ने छ ।
  • मदिरा सेवनकर्ताले स्वयम् उपस्थित भएर मदिरा किन्नु पर्ने छ । चालक वा अन्य कसैलाई किन्न पठाउन पाउने छैन ।
  • मदिराको मासिक सीमा निर्धारण गरी लागू गरिने छ ।

यस्तो सीमा तोक्न मदिराका प्रकार अनुसार विशेष भार तय गरेर ‘प्वाइन्ट’ अर्थात् अंकभारको उपयोग गरिएको छ । सूचीकृत ग्राहकले एक महिनामा २४० प्वाइन्ट मदिरा किन्न पाउने एफपीले लेखेको छ । यसमा एक लिटर स्पिरिट (कडा मदिरा) बराबर ६ प्वाइन्ट हुन्छ । एक लिटर वाइनलाई ३ प्वाइन्ट र १ लिटर बियरलाई १ प्वाइन्टको अंकभार दिइएको छ ।

कसले किन्न पाउँछ ?

सात दशकपछि पहिलो पटक मदिरा खुला गरिन लाग्दा साउदी अरबले चुनिएका गैह्रमुस्लिम कूटनीतिज्ञलाई मात्रै मदिरा किन्ने अनुमति दिने भएको छ । जुनसुकै मुलुकका मुस्लिम कूटनीतिज्ञ, कूटनीतिक बृत्तकै कर्मचारीदेखि बाँकी कोही पनि विदेशीले ती पसलबाट मदिरा किन्न पाउने छैनन् । साउदीका आफ्ना नागरिकले त किन्न पाउने कुरै भएन ।

यसको अर्थ नेपालबाट रोजगारीका लागि साउदीमा पुगेका कसैले पनि मदिरा किन्न पाउँदैनन् । तर दूताबासका उच्चपदस्थ कर्मचारीले किन्न पाउने छन्, त्यो पनि गैह्रमुस्लिमले मात्रै ।

साउदीमा किन्न नपाए पनि कूटनीतिज्ञहरूले यसअघि मदिरा पिउनै नपाएको भने होइन । उनीहरूले वर्षौंदेखि कूटनीतिक पार्सल आयात गर्दा मदिरा पनि त्यहाँ लगेर पिउने गरेका थिए । तर त्यसरी गरिने कूटनीतिक आयातको मदिरामध्ये केही हिस्सा कालोबजारी हुँदै आएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

साउदीले ‘डिप्लोमेटिक क्वार्टर’मा खोल्न लागेको मदिरा पसलका कारण अबैध कारोबार र कालोबजारी बन्द हुने अपेक्षा गरेको छ । नयाँ कानूनले कूटनीतिज्ञहरूलाई बाहिरबाट मदिरा लान कडाई गर्ने, बरु त्यहीँ पसल राखेर किन्ने सुविधा दिने व्यवस्थाहरू गरेको बीबीसीले लेखेको छ ।

७३ वर्ष अघिको त्यो हत्या

इस्लाम धर्ममा मदिरा प्रतिबन्ध भए पनि इस्लाम कानूनद्वारा नै सञ्चालित साउदी अरबमा सन् १९५२ सम्म मदिरा प्रतिबन्ध थिएन । बीबीसीका अनुसार सन् १९५१ मा मिशारी बिन अब्दुलअजीज अल–साउद नामका एक राजकुमारले ‘मदिरा नथपिदिएको’ भनेर विदेशी कूटनीतिज्ञको हत्या गरिदिएका थिए ।

२२ वटी श्रीमती भएका साउदीका तत्कालिन राजा अब्दुलअजीज बिन अब्दुल रहमान अल–साउदका ४५ भाइ छोरामध्ये मिशारी एक थिए । उनले मदिराले मातेका बेलामा थप मदिरा नदिएको भनेर ब्रिटिस उपमहाबाणिज्यदूत सिरिल उस्मानलाई गोली हानि हत्या गरेका थिए । जोद्दाह सहरमा चलिरहेको एक समारोहबीच भएको उक्त घटनाको एक वर्षपछि राजा अब्दुल अजीजले मदिरामाथि पूर्ण प्रतिबन्ध लगाइदिए ।

उदारिकरणको शिलसिला

साउदी अरबका युवराज तथा वास्तविक शासक मोहम्मद बिन सलमानले अघि सारेको उदारीकरण सम्बन्धी ‘भिजन २०३०’को एउटा पाटोको रुपमा मदिरा पसल खोल्न लागिएको टिप्प्णीहरू भएका छन् । सन् २०१७ मा युवराज घोषणा भएयता सलमानले पेट्रोलियममा आधारित आफ्नो देशको अर्थतन्त्रलाई विविधिकरण गर्न यस्ता उदार नीतिहरू अघि सार्दै आएका छन् ।

धर्तिको १.४ प्रतिशत भूभाग ओगट्ने साउदी अरब संसारको १३ औं ठूलो देश हो । सन् २०२२ को तथ्यांक अनुसार साउदी अरब अर्थतन्त्रको आकारमा विश्वको १७ औं र प्रतिव्यक्ति आयका हिसाबमा ३३ औं स्थानमा छ । तर यो देश विश्वकै सबैभन्दा कडा कानून भएको मुलुक भनेर चिन्छि ।

साउदीका युवराज एवम् प्रधानमन्त्री मोहम्मद बिन सलमान अल–साउद ।

सलमान सत्तामा आएपछि उनले कयौं पाटाहरूमा नीतिगत बदलाव ल्याउन थालेका छन् । सन् २०१८ मा साउदी सरकारले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिन महिलाहरूमाथि लगाएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि साउदी महिलाहरू आफैं गाडी हाँक्न पाउने भएका छन् ।

सन् २०१९ को आरम्भमै शाही आदेशमार्फत् आफ्नो देशका महिलालाई पुरुष अभिभावकको अनुमति बिनानै विदेश जान दिने व्यवस्था गरेको थियो । त्यसै सालको अन्त्यतिर रेस्टुरेन्टमा खाना वा खाजा खान जाँदा महिला र पुरुषले बेग्लाबेग्लै ढोकाबाट प्रवेश गर्नुपर्ने व्यवस्था हटाइएको थियो ।

त्यसअघि महिला र परिवारका सदस्या एकसाथ जाँदा एउटा ढोकाबाट छिर्नुपर्ने, एक्लै वा समूहमा पुरुषहरू जाँदा अर्को ढोकाबाट छिर्नुपर्ने व्यवस्था थियो । भित्र बस्दा पनि पर्दाको प्रयोग गरेर महिला र परिवारलाई बेग्लै, एक्लै आउने पुरुषलाई बेग्लै राख्ने गरिएको थियो । साउदी सरकारले अलग्गै प्रवेशद्वार बनाउनुपर्ने कानुनी बाध्यता हटाए पनि व्यवसायीले विवेकको आधारमा यो व्यवस्था हटाउन वा कायम राख्न पाउने छुट दिइएको छ ।

२०१९ कै अक्टोबरमा साउदीले अविवाहित जोडिलाई होटेलको एउटै कोठामा बस्न पाउने व्यवस्था गरेको थियो । यो व्यवस्था साउदीका नागरिकका लागि लागू हुँदैन, विदेशी नागरिकका लागि मात्रै लागू हुन्छ । प्रवेशाज्ञासम्बन्धि नयाँ कानूनले विदेशीमात्रै होइन, साउदीकै नागरिक महिलाहरूलाई पनि एक्लै होटेलमा बस्न समेत छुट दिएको थियो । त्यसअघि होटेलमा एउटै कोठामा बस्न विवाहित दम्पत्ति भएको प्रमाण पेश गर्नुपर्ने नियम थियो ।

यसअघि नै सलमानले साउदीमा सिनेमा र कन्सर्टहरुमाथिको प्रतिबन्ध हटाएका थिए । धार्मिक प्रहरीको अधिकार खारेज गरेका थिए । विदेशी महिलाहरुले पुरै शरीर ढाक्ने गरी लुगा लगाउनु नपर्ने, छोटा लुगा लगाए पनि हुने व्यवस्था गरेका थिए । भलै त्यो लुगा ‘सालिन’ हुनुपर्ने भनिएको छ ।

–एजेन्सीहरूको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्