अमेरिकी राष्ट्रपति चुनाव दुई सातापछि, बढ्दैछ ट्रम्प र ह्यारिसको टक्कर
काठमाडौँ । अबको दुई सातापछि आगामी नोभेम्बर ५ मा संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदै छ। यो निर्वाचनको परिणामले संसारमा अहिले देखिएका कतिपय महत्वपूर्ण सवालहरु भविष्यमा कुन दिसा र गतिमा अघि बढ्लान् भन्ने नवीन परिदृष्यहरु प्रस्तुत गर्ने छ ।
तर यस पल्टको चुनावमा अमेरिकाको भावि नेतृत्व कसले गर्छ भन्ने कुनै संकेतसम्म प्राप्त हुन सकेको छैन । त्यहाँ पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा उत्रिएका छन् । के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउला त ? कि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पुनः सत्तामा फर्किएलान् ? अमेरिकी राजनीतिमा यो अहिले चासोको मुख्य विषय बनेको छ।
कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई डोनल्ड ट्रम्पभन्दा केही अगाडि देख्न थालियो। उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन्। तर उनीहरुबीचको प्रतिस्पर्धा झनै बढ्दै गएको देखिन्छ ।
निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो। अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन्।
तर सेप्टेम्बरको पूर्वार्धदेखि दुई उम्मेदवारहरूप्रति समर्थन व्यक्त गर्ने मतदाताको सङ्ख्या तुलनात्मक रूपमा स्थिर छ। सेप्टेम्बर १० मा ह्यारिस र ट्रम्पबीच भएको बहसपछि पनि त्यसमा ठूलो परिवर्तन देखिएको छैन। टेलिभिजनबाट प्रत्यक्ष प्रसारित उक्त बहस सात करोड मानिसले हेरेका थिए।
विगत केही सातामा प्रतिस्पर्धामा कति थोरै परिवर्तन भएको छ भन्ने कुरा तलको चित्रले देखाउँछ। विभिन्न रङ्गमा प्रस्तुत रेखाले मुख्य तीन उम्मेदवारका पक्षमा अभिव्यक्त मतको औसत मान र बिन्दुले प्रत्येक सर्वेक्षणमा उनीहरूले प्राप्त गरेको समर्थनको प्रतिशत सङ्केत गर्छन्।
यस्ता सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियताको झल्को दिने भए पनि तिनकै आधारमा निर्वाचनको परिणाम यस्तै हुन्न भन्न चाहिँ सकिँदैन। यद्यपि, हालसम्मका कयौँ मत सर्वेक्षणहरुको समग्र सूचकले ह्यारिस राष्ट्रपति बन्नसक्ने संभावना ४८ प्रतिशत र ट्रम्पले अमेरिकी सत्ता हाक्ने संभावना ४६ प्रतिशत रहेको देखाएका छन् ।
किनभने संयुक्त राज्य अमेरिकामा ुइलेक्टोरल कलेजु भनिने ुनिर्वाचक मण्डलुमा आधारित प्रणालीले निर्वाचनको परिणामको छिनोफानो गर्छ। त्यसअन्तर्गत राज्यहरूलाई त्यहाँको जनसङ्ख्याका आधारमा निश्चित सङ्ख्यामा मतभार अर्थात् ुइलेक्टोरल कलेज मतु दिइएको हुन्छ।
देशभरिका सबै राज्यसँग कुल ५३८ इलेक्टोरल कलेज मत हुन्छ। निर्वाचन जित्न २७० मतभार पाउनैपर्छ। सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन्, राष्ट्रिय स्तरमा हैन।
दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ।
अमेरिकामा ५० राज्य छन्। अधिकांश राज्यले प्रत्येक निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिन्छन्। केही राज्यमा मात्र दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ। ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिन्छन्। ती राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ (सङ्ग्रामभूमि राज्य) अथवा ‘स्विङ स्टेट’ भन्ने गरिन्छ।
अमेरिकामा एरिजोना, जोर्जा, नोर्थ क्यारलाइना, नभाडा, मिशिगन, पेन्सिल्भेनिआ र विस्कन्सिन लाई ‘स्विङ स्टेट’ भनिएको छ । यी राज्यहरुमा कुल ९३ इलेक्टोरल कलेज मत छन् । त्यसमध्ये चार राज्यमा ह्यारिस र तीन राज्यमा ट्रम्प अगाडी रहेको विवरणहरु अमेरिकी सञ्चारसंस्थाले सार्वजनिक गरिरहेका छन् ।
समग्रमा यी सातै राज्यमा गरी ह्यारिस कहिलेकाहीँ ट्रम्पभन्दा दुई वा तीन प्रतिशतले अगाडि देखिइरहेकी छिन्। तर केही दिनदेखि प्रतिस्पर्धा बढेको देखिन्छ। यसले पनि भावि निर्वाचनको परिणामलाई अड्कल काट्न ज्यादा मुस्किल बनाइदिएको छ ।
सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि अमेरिकी मत सर्वेक्षणहरुले ट्रम्प नभएर हिलारी क्लिन्टनले चुनाव जित्ने दाबी गरेका थिए । हुन पनि पपुलर मतमा क्लिन्टनले ४८.२ प्रतिशत र ट्रम्पले ४६.१ प्रतिशतमात्रै मत पाएका थिए । तर इलेक्टोरल कलेजमा ट्रम्पले ३०४ मत पाएर राष्ट्रपति बने भने क्लिन्टन २२७ मतमा बाहिरनु पर्यो ।
बीबीसी नेपाली सेवाबाट।