के युक्रेनमा १० लाखभन्दा बढी मानिस मरिसकेका हुन् ? « Arthapath.com
४ कार्तिक २०८१, आईतवार

के युक्रेनमा १० लाखभन्दा बढी मानिस मरिसकेका हुन् ?



काठमाडौँ । अहिलेसम्मको अवस्था हेर्दा रुसले युक्रेनमा युद्ध ‘जीतिरहेको’ छ । ऊ अझै पनि कम्तिमा २ वर्ष युद्ध लम्ब्याउनसक्ने हालतमा छ । तर युक्रेन अहिले नै कयौँ समस्याले घेरिइसकेको छ । अब युक्रेनसँग लामो समय युद्ध तन्काउने सामथ्र्य छैन । कुनै क्रान्तिकारी परिवर्तन नभए युक्रेन विस्तारै आत्मसमर्पण गर्ने वा युद्ध हार्ने अवस्थामा पुग्न सक्छ भन्ने अनुमान धेरैले गर्न थालेका छन् ।

तर यो युद्धका दौरान रुसले ज्यादै ठूलो मानवीय क्षति व्यहोर्नु परेको छ । २४ फेब्रुअरी २०२२ (२०७८ फागुन १२) मा युद्ध सुरु भएयता ७१ हजारभन्दा बढी रुसी सेनाहरु युक्रेनमा मारिएको पुष्टि भएको खबर गत सेप्टेम्बर अन्त्यतिर रुसी समाचार संस्था आउटलेट मिडियाजोनाले उल्लेख गरेको थियो ।

तर अमेरिकीहरुको आँकडा योभन्दा ज्यादै ठूलो छ । लण्डनबाट निस्कने पत्रिका द इकोनोमिस्टले गत भदौमा अमेरिकी रक्षा विभागको कागजातलाई उद्धृत गर्दै विवरण प्रकाशित गरेको थियो । त्यस अनुसार गत जेठ मसान्तसम्म नै ४ लाख ६२ हजारदेखि ७ लाख २८ हजार रुसी सैनिकहरु या त मारिएको, नभए घाइते भएको वा युक्रेनी कब्जामा परेको जनाएको थियो ।

युक्रेनी सेनाले भने गत अक्टोबर १ (१५ असोज)सम्म ६ लाख ५४ हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको जनाएको छ ।

उता युक्रेनमा १० देखि १२ हजार सर्वसाधारण मारिएको र २० हजार हाराहारी सर्वसाधारण घाइते भएको आँकडाहरु गएको मध्येअसारमै सार्वजनिक गरिएको थियो । त्यसपछि पनि मारिने र घाइते हुने क्रम रोकिएको छैन ।

युक्रेनी सेनाको हकमा करीब ५ लाख सैनिकले ज्यान गुमाइसकेको भनेर रुसी रक्षा मन्त्रालयको दाबीलाई आरटी न्युज वेवसाइटले गत महिना नै समाचार छापेको थियो । तथापि, पश्चिमाहरुले युद्ध सुरु भएयता जम्मा ८० हजार युक्रेनी सेनामात्रै मारिएको बताएका छन् ।

पश्चिमाहरु युक्रेनको क्षतिलाई सकेसम्म कम देखाउने र रुसी क्षतिलाई ज्यादा देखाउने नियोजित प्रयासमा छन् । युद्धको समयमा हरेक देशका सरकारले यस्तो रणनीति अपनाउने गरेको छ । आफ्नो वा आफूले समर्थन गरेको पक्षको प्रभावकारीता ज्यादा देखाउन यस्तो गर्ने गरिन्छ ।

दोस्रो विश्वयुद्ध ताका पनि सबै देशले आफ्नो सैन्य क्षतिलाई आधाभन्दा कम मात्रै देखाएर विरोधी पक्षको सैन्य क्षति वास्तविकभन्दा २–३ गुणा बढी भएको दाबी गर्ने गरिएको थियो । अहिले पनि यस्तो अभ्यास देखिएको छ ।

अर्कातर्फ शब भेटिएपछिमात्रै त्यसलाई सम्बन्धित देशको सरकारले मृत्यु पुष्टि गर्ने गरेको छ । तर जारी युद्धमा अधिकांश शवहरु भेटिएका छैनन् । त्यसमाथि रुसले युक्रेनी भूभाग कब्जा गर्दै गएका कारण युक्रेनले युद्धक्षेत्रबाट आफ्ना सैनिकको शब संकलन गर्न सकिरहेको छैन । यसले पनि युक्रेनी आँकडा कम देखिएको बताइएको छ ।

यसरी मृत्युको आँकडा कम देखाउँदा सरकारलाई पनि फाइदा हुन्छ । युद्धका बेला सरकारहरुले ‘वीरगति’ प्राप्त गर्ने सैनिकका परिवारलाई विशेष सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ । तर मृत्यु घोषणा नगरी ‘बेपत्ता’को आँकडा बढाइरहँदा सरकारलाई त्यस्तो भुक्तानी दिने बाध्यताबाट तत्कालका लागि टार्न वा जोगिन सकिन्छ ।

अर्कोचाहीँ यी आधिकारीक आँकडाहरुमा रुसको वाग्नर समूह वा युक्रेनका नागरिक सैनिकहरुजस्ता गैर–राज्य सेनाको हिसाब राखिएको छैन । यसले पनि हताहतीको संख्या कम देखिएको हुनसक्छ । शब्दकोशहरु प्रकाशन गर्ने अमेरिकी कम्पनी मेरियम वेबस्टरले सञ्चालन गरेको विश्वकोष (इन्साइक्लोपेडिया) ब्रिटानिकाले दुई वर्षको युद्धका दौरान वाग्नर सूमहमा मात्रै २० हजर लडाकु मारिएको र ४० हजार लडाकु घाइते भएको लेखेको छ ।

गत जेठमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पत्रकारहरुसँग कुरा गर्दै रुसको तुलनामा युक्रेनले ५ गुणा बढी क्षति ब्यहोरिरहेको दाबी गरेका थिए । ‘किभले एक महिनामै करीब ५० हजार कर्मचारी (योद्धा) गुमाएको छ’, उनले भनेका थिए ।

अहिले रुस र युक्रेन दुबै देश युद्धमा भाग लिने जनशक्तिको अभाव भोगिरहेका छन् । युक्रेनमा अब १८ देखि २५ वर्ष उमेर समूहका युवालाई युद्धमा होम्नुपर्ने बहस सुरु भएको छ । तर त्यहाँका केही नेता र राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त उमेर समूहका युवाले अहिलेसम्म बच्चा जन्माउनै नपाएका कारण उनीहरुलाई युद्धमा होम्नु नहुने बताउँदै आएका छन् ।

युक्रेनी सेनाले अहिलेसम्म २५ देखि ६० वर्षका नागरिकलाई युद्धमा होमिरहेको छ । रुसले पनि संसारभरबाट युद्ध लड्ने भाडाका सीपाहीहरु जुटाइरहेको आरोप पश्चिमा मुलुकले लगाउँदै आएका छन् ।

यी आँकडाहरुलाई नियाल्ने हो भने ३२ महिनाभन्दा कम समयमा युक्रेनमा १० लाख वा त्योभन्दा पनि बढी मानिसको ज्यान गइसकेको देखिन्छ । सामान्यतया यस्ता युद्धमा मर्नेको तुलनामा घाइते हुनेको संख्या कम्तिमा पनि दोब्बर हुने गरेको छ । यसले कुल हताहतीको संख्या निकै उच्च भएको देखिन्छ ।

युक्रेनमा कयौँ विश्लेषकहरुले त्यहाँको जनसांख्यिक भविष्य नै अन्धकारमा धकेलिएको भनेर चेतावनी दिइसकेका छन् । ठूलो संख्यामा मानिसहरु युद्धमा मारिएपछि देशको जनसंख्या नै चौपट हुने अवस्था आएको छ । संयुक्त राष्ट्र संघ अन्तरगतको अन्तरराष्ट्रिय आप्रवासन संगठनले गत फागुनमा जारी गरेको एक प्रतिवेदन अनुसार वितेको दुई वर्षमा १ करोड ४२ लाख युक्रेनी (कुल जनसंख्याको ३५ प्रतिशत)ले युद्धका कारण आफ्नो घर छाड्नु परेको उल्लेख गरेको छ ।

त्यसमध्ये ४५ लाख घर फर्किएको र ९७ लाख मानिसहरु अझै पनि विस्थापित रहेको जनाएको छ । त्यसमा पनि ३७ लाख त देशभित्रै छन्, तर ६० लाख मानिसहरु अन्य युरोपेली मुलुकहरुमा शरणार्थीको रुपमा रहेका छन् । यसरी एकातिर विस्थापित हुने र अर्कातिर मारिने गरेर युक्रेनको जनसंख्या रित्तिँदै गएको छ ।

यता प्यालेस्टाइनमा युद्ध सुर भएको भर्खरै १ वर्ष पुग्यो । गत सालको २० असोजमा गाजापट्टीमा सत्ता चलाइरहेको संगठन हमासले इजरायलमा हमला गर्यो । उक्त हमलामा कम्तिमा इजरायली सैनिक र गैरसैनिक गरेर ११३९ जना मारिएका थिए । २०० जनाभन्दा धेरैलाई हमासले कब्जामा लिएर गाजा लगेको थियो ।

उक्त घटनापछि इजरायलको जवाफी कारबाहीमा हालसम्म कम्तिमा पनि ४२ हजार ५१९ जना प्यालेस्टिनीको मृत्यु भइसकेको र ९९ हजार ६३७ जना घाइते भएको विवरण अलजजिराले प्रकाशित गरेको छ । यो युद्ध विस्तारै पश्चिम एसियामा फैलिने जोखिम बढेको छ । लेबनानमा इजरायलले जमीनी हमला गर्ने प्रयास अघि बढाएको खबरहरु आएका छन् । त्यसो भयो भने यस क्षेत्रमा पनि मानिसहरुको मृत्युको संख्या राम्रैसँग बढ्ने पक्का छ ।


प्रतिक्रिया दिनुहोस्