भारतमा आरबीआईको डेपुटी गभर्नरका लागि खुल्यो जागिर, कति हुन्छ तलब ? « Arthapath.com
१९ कार्तिक २०८१, सोमबार

भारतमा आरबीआईको डेपुटी गभर्नरका लागि खुल्यो जागिर, कति हुन्छ तलब ?



काठमाडौँ । भारतको केन्द्रिय बैंक भारतीय रिजर्भ बैंक (आरबीआई) मा डेपुटी गभर्नर पदका लागि आवेदन आह्वान गरिएको छ । वर्तमान डेपुटी गभर्नर माइकल देवव्रत पात्राको कार्यकाल आगामी १५ जनवरी (पुस अन्तिम)मा सकिँदै छ ।

पात्राको स्थान रिक्त हुने भएपछि नयाँ डेपुटी गभर्नरका लागि त्यहाँको वित्त मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै आवेदन मागेको हो ।

आरबीआईमा चार जना डेपुटी गभर्नर रहने व्यवस्था छ । त्यसमध्ये दुई जना केन्द्रिय बैंक भित्रैबाट पदोन्नती हुने गर्छन् भने एक जना बाणिज्य बैंकहरुबाट र अर्का एक जना अर्थशास्त्रीहरुबाट भित्र्याउने प्रचलन छ ।

डा. एमडी पात्रा डेपुटी गभर्नर हुनुअघि आरबीआईकै मौद्रिक नीति विभागका कार्यकारी निर्देशक थिए ।

भारत सरकारले प्रकाशित गरेको सूचना अनुसार आगामी ३ वर्षे कार्यकालका लागि नयाँ डेपुटी गभर्नर नियुक्त गर्न लागिएको हो । उक्त पदमा पुनः नियुक्त हुनसक्ने व्यवस्था भएका कारण पात्रा स्वयम् पनि नियुक्त हुनसक्ने संभावना कायमै छ ।

आगामी पुस अन्तिमसम्म ६० वर्ष उमेर नपुगेको र सचिव सरहको ओहोदामा समेत रहेर कम्तिमा २५ वर्ष सेवा गरेको मान्छेले यो पदमा निवेदन दिन सक्ने व्यवस्था छ । यसरी नियुक्ति पाउने डेपुटी गभर्नरले भारू. २ लाख २५ हजार तलब सुविधा पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्