रुस र युक्रेनबीच एक–अर्कामाथि अहिलेसम्मकै भीषण ड्रोन हमला
काठमाडौँ । रुस र युक्रेनबीच युद्ध सुरु भएयता एक अर्काविरुद्ध सबैभन्दा भीषण ड्रोन हमला गरेका छन्। रुसले विभिन्न ६ स्थानबाट ८४ वटा युक्रेनी ड्रोनलाई निष्क्रिय तुल्याएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
तीमध्ये कतिपय ड्रोनहरु रुसी राजधानी मस्कोतर्फ आइरहेका थिए । ती ड्रोन हमलाका कारण रुसले आफ्नो राजधानीका तीनवटा प्रमुख विमानस्थलबाट उडानहरू अन्यत्र मोड्नुपरेको थियो ।
युक्रेनको वायुसेनाले पनि शनिवार राति रुसले १४५ वटा ड्रोन आफ्नो देशका विभिन्न ठाउँमा पठाएको बताएको छ । तीमध्ये अधिकांशलाई खसालिएको युक्रेनी सेनाको दाबी छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दुवै पक्षलाई द्वन्द्व अन्त्य गर्न दबाव दिन सक्ने अपेक्षा गरिएकै बेला यी आक्रमणहरू भएका हुन्।
मस्कोमा हमला गर्ने युक्रेनको प्रयासलाई युद्ध सुरु भएयताकै उसको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। ती अधिकांश ड्रोनहरू रामनस्कोय, कोलोम्ना र डेमडियाडोभा डिस्ट्रिक्टमा खसालिएका छन् ।
सवा करोड आवादी भएको शहर मस्कोबाट दक्षिणपश्चिममा पर्ने रामनस्कोयमा ड्रोनलाई खसाल्दा त्यसका भग्नावशेषबाट पाँच जना घाइते भएका थिए । साथै चारवटा घरमा आगलागी भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। उक्त नगरबाट ३४ वटा ड्रोन खसालिएको उसको भनाइ छ।
उता, युक्रेनी वायुसेनाले इरानमा निर्माण भएका ६२ वटा रुसी ड्रोन खसालिदिएको दाबी गरेको छ ।
गत महिना अर्थात् अक्टोबरमा रुसी सेनाले सन् २०२२ को मार्च यताकै सबैभन्दा ठूलो ‘भौगोलिक उपलब्धि’ हात पारेको थियो । युक्रेनले आफ्नो ठूलो भूभाग गुमाउनु परेका बेला ड्रोनहरूको यस्तो भीषण आक्रमण भएको हो ।
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी माघ ७ मा सत्ता सम्हाल्ने छन् । ट्रम्पले यसअघि निर्वाचन अभियानका क्रममा नियमित नै आफू राष्ट्रपति बनेमा एक दिनमै युद्ध अन्त्य गरिदिने बताउँदै आएका छन् ।
ट्रम्प युक्रेनमा अर्बौँ डलर खर्च गरेर आफ्नो देशलाई बेवास्ता गर्न चाहँदैनन् । उनी आफ्ना नागरिकलाई कयौँ कर छुट तथा सामाजिक सुरक्षा योजनाहरु दिएर थप लोकप्रिय हुन चाहेका छन् । तर अमेरिकाको सहायता बिना युक्रेन युद्धमा टिकिरहनसक्ने स्थिति छैन । त्यसैले के कस्तो सम्झौतामार्फत् युद्ध अन्त्य हुनसक्छ भन्ने परिदृष्य बाहिर आइसकेको देखिँदैन ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ट्रम्प निर्वाचित भएसँगै झन्डै आधा घण्टा टेलिफाने कुराकानी गरेको बताइएको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुराकानी गरेका छन् ।
तर सम्भावित सम्झौताबारे अनुमानहरु लगाइँदै रहँदा युक्रेन सकेसम्म गुमेको भूमि फिर्ता ल्याउन चाहिरहेको छ भने रुस पनि सकेसम्म रणनीतिक इलाकाहरु कब्जा गर्न चाहिरहेको छ । ट्रम्पको आगमनसँगै रुसले कब्जा गरेको भूमि रुसलाई नै दिएर बाँकी भूभागमा युक्रेन समेटिनसक्ने संभावनाबारे अनुमानहरु लगाइएका छन् । तर त्यसो गर्न ती देश र विश्व समुदाय तयार हुन्छ कि हुँदैन भन्ने गहन प्रश्न छ ।
यद्यपि, अमेरिकाले सहायता रोकिदिने हो भने युक्रेनसँग बाँकी भूमि पनि बच्ने छैन । आउँदै गरेको जाडो मौसममा युक्रेनमा रुखका पातहरु झर्ने छन् र मानिसहरु छिप्ने ठाउँ अझै कम हुने छ । यस्तो बेला रुसी आक्रमणको रफ्तार बढ्न सक्छ र सिंगै देश रुसी कब्जामा पुग्नसक्ने जोखिम औंल्याउन थालिएको छ ।
त्यसै कारण पनि युक्रेन र उसका अन्य सहयोगीहरु रुसी कब्जामा नपुगेका भूभागमै समेटिएर भए पनि देश जोगाइराख्ने अवस्थामा पुग्न सक्ने अनुमान पनि गरिएको छ ।
आउँदो समयमा सकेसम्म बढी क्षेत्र कब्जा गर्ने र सकेसम्म भूमि फिर्ता गर्ने परस्पर हतारोले युद्ध अझै भीषण हुँर्द जानसक्ने आँकलन गरिएको छ ।
बीबीसी र एजेन्सीहरुको सहयोगमा ।