एकै वर्षमा झण्डे २७ प्रतिशतले घरजग्गा महँगिएको राष्ट्र बैंकको प्रतिवेदन « Arthapath.com
२ श्रावण २०८३, शनिबार

एकै वर्षमा झण्डे २७ प्रतिशतले घरजग्गा महँगिएको राष्ट्र बैंकको प्रतिवेदन



काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले गत शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षमा घरजग्गाको भाउ झण्डै २७ प्रतिशत बढेको उल्लेख गरेका छन् । आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य ब्यांकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत छ। तर, मालपोत कार्यालयहरूबाट प्राप्त तथ्याङ्कका आधारमा यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको राष्ट्र ब्यांकले जनाएको छ। 

घरजग्गा मूल्य सर्वेक्षणका लागि मालपोत कार्यालय र वाणिज्य ब्यांकहरूबाट प्राप्त तथ्याङ्कलाई आधार मानिएको छ। यस आधारमा वाणिज्य ब्यांक र मालपोत कार्यालयमा घरजग्गाको मूल्य वृद्धिदर फरक फरक पाइएको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७७/७८ को पहिलो ९ महीनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकाले घरजग्गा मुद्रास्फीति केही कम रहेको प्रतिवेदनमा उल्लेख छ।

तथ्याङ्क सङ्कलन गर्दा प्रारम्भिक सर्वेक्षणको आधारमा सबैभन्दा धेरै घरजग्गा कारोबार हुने स्थानहरू छनोट गरिएको राष्ट्र ब्यांकले जनाएको छ।

सूचकाङ्क तयारी गर्नका लागि प्रत्येक प्रदेशबाट भौगोलिकता, कारोबारको सघनता र तथ्याङ्क उपलब्धतालाई हेरेर नमूना छनोटमा परेका २० जिल्लाका २० स्थानलाई स्रोत केन्द्रको रूपमा छनोट गरी तथ्याङ्क सङ्कलन गरिएको थियो।

मूल्य सूचकाङ्क निर्माणका लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोबार सङ्ख्यालाई आधार मानिएको राष्ट्र ब्यांकले जनाएको छ। उक्त भाराङ्कलाई राष्ट्रिय स्तरमा जग्गाको मात्र ७६.६७ प्रतिशत र घरजग्गाको भाराङ्क २३.३३ प्रतिशत मानिएको छ।


प्रतिक्रिया दिनुहोस्