आज र भोलि कयौँ जिल्लामा मुसलधारे वर्षा, हवाई र सडक यातायात प्रभावित हुन सक्ने, सतर्क रहन आग्रह
देशका अधिकांश भूभागमा तीन दिनसम्म मच्चिन सक्ने मनसुनी वितण्डालाई ध्यान दिँदै मौसम पूर्वानुमान महाशाखाले नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
काठमाडौँ । नेपालमा मनसुनी वायु थप शक्तिशाली बनेसँगै देशका विभिन्न हिस्सामा ठूलो प्राकृतिक विपद् निम्त्याउन सक्ने गरी मुसलधारे वर्षाको सम्भावना बढेको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मौसम प्रतिकूल रहने जनाउँदै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वायुमण्डलीय प्रणालीमा आएको हेरफेरका कारण देशैभरि जलमग्न हुन सक्ने स्थिति देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जलवायवीय चक्रमा आएको बदलावका कारण मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक सरेको छ। मौसमविद् सञ्जीव अधिकारीले दिएको जानकारी अनुसार यो रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेको छ।
यसकै प्रभावले गर्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागमा भारी वर्षा हुने देखिएको छ। कतिपय स्थानमा भने अति भारी वर्षा समेत हुन सक्ने अनुमान अधिकारीले गरे। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि ठूलो पानी पर्ने सम्भावना छ।
आज दिनभरि नै देशका धेरैजसो आकाश बादलले ढाक्ने छ। पहाड र तराईका भूभागमा चट्याङ र मेघगर्जनसहित मध्यम वर्षा हुनेछ भने हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुने सम्भावना छ। मौसम विभागका अनुसार यो क्रम राति अझ बढ्ने देखिन्छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा विपद् निम्त्याउन सक्ने गरी अति भारी वर्षा हुन सक्ने भएकाले रातको समयमा नागरिक अझ बढी चनाखो हुनुपर्ने देखिन्छ।
लगातारको वर्षाले पहाडी भेगमा पहिरो र भूक्षयको खतरा बढाउने छ भने नदी किनार र तराईमा बाढी तथा गेग्रान बहावको जोखिम निम्त्याउने छ। यस मौसमी फेरबदलले आम नागरिकको दैनिक जनजीवन मात्र नभई कृषि, स्वास्थ्य, र पर्यटन क्षेत्रमा पनि गम्भीर असर पार्न सक्छ।
विशेषगरी पदयात्रा र पर्वतारोहणमा निस्कनेहरू तथा सडक र हवाई मार्गबाट यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउनु पर्ने मौसमविद्ले बताए। जोखिमबाट बच्नका लागि विभागले जारी गर्ने पछिल्ला बुलेटिन र सूचनाहरू नियमित रूपमा हेर्न अधिकारीले सुझाव दिए।














