१५ सचिवसहित करिब दुई हजार कर्मचारी यसै वर्ष घर जाँदै
मुलुकको प्रशासनिक नेतृत्व सम्हाल्ने विशिष्ट श्रेणीका १५ सचिवसहित झण्डै दुई हजार निजामती कर्मचारी चालु आर्थिक वर्षभित्र अनिवार्य अवकाशमा जाँदैछन्।
काठमाडौँ । नेपालको प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरकै सरकारी संयन्त्रमा यो वर्ष कर्मचारीहरूको ठूलो हेरफेर देखिने भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ भित्र उमेरको हद र सेवावधि पार गरेर करिब दुई हजार कर्मचारीले सरकारी सेवाबाट बिदा लिँदैछन्।
राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलले सार्वजनिक गरेको विवरण अनुसार देशका तीनै तहका गरी कुल ९२ हजार ५२० कर्मचारीमध्ये १ हजार ९८५ जना अनिवार्य अवकाशको सूचीमा परेका हुन्। निजामती सेवामा हरेक वर्ष औसत दुई हजारको हाराहारीमा कर्मचारी सेवाबाट बाहिरिने नियमित प्रक्रिया जस्तै बनेको छ।
यो अवकाशको लहरले तल्लो तहका कर्मचारीलाई मात्र होइन, मुलुकको नीति निर्माण तहमा बसेका शीर्ष प्रशासनिक नेतृत्वलाई समेत ठूलो मात्रामा समेटेको छ। यसपटक विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशका मुख्यमन्त्री कार्यालयमा कार्यरत १५ जना सचिवहरू (विशिष्ट श्रेणीका अधिकारी) सेवाबाट बाहिरिँदैछन्।
विशेष गरी प्रधानमन्त्री कार्यालयका तीन जनासहित गृह र रक्षा जस्ता देशका शक्तिशाली मन्त्रालयका प्रशासनिक प्रमुखहरूले यसै वर्ष अवकाश पाउने भएपछि सरकारले नयाँ नेतृत्व चयनको गृहकार्य समेत गर्नुपर्ने देखिन्छ।
विशिष्ट अधिकारीहरूको बहिर्गमन: कसको पालो कहिले?
किताबखानाको विवरण अनुसार साउन महिनाबाटै शीर्ष कर्मचारीहरूको बहिर्गमन सुरु भइसकेको छ। प्रधानमन्त्री कार्यालयका सचिव किरणराज शर्मा साउन ४ गते तथा सोही कार्यालयका अर्का सचिव डिल्लीराम शर्मा भदौ ३ र इन्दिरा दाहाल असार २४ मा अवकाशमा जानेछन्।
साउन महिनामै युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्याल साउन ७ गते र संघीय मामिला मन्त्रालयका सचिव हरिप्रसाद मैनाली साउन १९ गते बिदा हुनेछन्।
यस्तै, वागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी भदौ ४ गते, गृह सचिव राजकुमार श्रेष्ठ भदौ १६ गते र भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १४ गते सेवाबाट बाहिरिनेछन्।
यो क्रम हिउँद र आगामी वर्षको असारसम्मै निरन्तर चल्ने देखिन्छ। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १९ गते, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत पुस २१ गते र लोकसेवा आयोगका सचिव रामेश्वर दंगाल माघ १७ गते अनिवार्य अवकाशमा जाँदैछन्।
त्यसैगरी, पर्यटन सचिव मुकुन्दप्रसाद निरौला फागुन ५ गते, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री वैशाख ६ गते, रक्षा सचिव केदारनाथ शर्मा असार १ गते र कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल असार १५ मा अवकाश हुने सूचीमा छन्।
रिक्तताको चित्र
अवकाश पाउन लागेका कर्मचारीहरूको तहगत विवरण हेर्दा यसले सिङ्गो प्रशासनिक ढाँचालाई नै प्रभावित पार्ने देखिन्छ। किताबखानाका अनुसार यस वर्ष विशिष्ट श्रेणी वा सो सरहका २० जना उच्च अधिकारीहरू सेवाबाट बाहिरिनेछन्।
त्यसैगरी, मध्यम र तल्लो तहका नीति कार्यान्वयन गर्ने अधिकारीहरूमा ८७ जना सहसचिव, २०६ जना उपसचिव र ३२० जना शाखा अधिकृतहरूले अनिवार्य अवकाश पाउँदैछन्। प्रशासनको जग मानिने सहायक स्तरका ७७३ जना र श्रेणीविहीन ५७९ जना कर्मचारी पनि यसै आर्थिक वर्षभित्र सरकारी सेवाबाट बिदा हुनेछन्।
राष्ट्रिय किताबखाना (निजामती) ले आफ्नो कार्यसञ्चालन निर्देशिका, २०७२ को व्यवस्था अनुरुप कर्मचारीहरूको यो अनुमानित अवकाशको सूची तयार पारेको हो।
अवकाश हुने कर्मचारीहरूको विस्तृत र नामावलीसहितको विवरण कार्यालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ। यद्यपि, किताबखानाले सार्वजनिक गरेको यो विवरणमा न्याय सेवातर्फका कर्मचारीहरूको तथ्याङ्क भने समावेश नगरिएको जानकारी दिएको छ।













