राजनीतिक उथलपुथलले हल्लिएको सेयर बजारः लगानीकर्ताका लागि कस्तो रह्यो गत आर्थिक वर्ष ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

राजनीतिक उथलपुथलले हल्लिएको सेयर बजारः लगानीकर्ताका लागि कस्तो रह्यो गत आर्थिक वर्ष ?



काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा सेयर बजारमा निकै उतारचढाव देखियो। जेनजी आन्दोलनको प्रभाव, लगानीकर्ताको मनोबलमा आएको गिरावटलगायत विभिन्न कारणले बजारमा अनिश्चितताको कालो बादल मडारिरह्यो, जसको प्रभाव सेयर बजारमा नराम्रोसँग परेको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा वर्षको सुरुवात २७९४.७९ अंकबाट भएको नेप्से परिसूचक अन्तिम कारोबार दिन ७.५० अंकले सुधार हुँदै २५९७.८० अंकमा बन्द भयो। यससँगै गत आर्थिक वर्षमा बजार समग्रमा १९६.९९ अंकले घट्यो।

बजारमा आएको यो गिरावटले अधिकांश लगानीकर्ता आत्तिए। जेनजी आन्दोलन, राजनीतिक परिवर्तन, अर्थतन्त्रमा देखिएको सुस्तता, लगानीकर्ताको मनोबलमा आएको गिरावटलगायतका कारणले बजारको यस्तो अवस्था भएको विश्लेषकहरूको भनाइ छ।

देशमा नयाँ सरकार आएसँगै सेयर बजारले गति लिने अपेक्षा गरिएको थियो। तर व्यवसायीहरूमाथिको धरपकड र नीतिगत अनिश्चिततालगायतका कारणले आर्थिक वर्षभरि नै बजारले छलाङ मार्न सकेन र वर्षभरि प्रभावित बनिरह्यो।

कारोबार रकममा पनि भारी गिरावट

यस्तै, गत आर्थिक वर्षमा कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ। गत आवमा नेप्सेमा कुल १५ खर्ब ३९ अर्ब २९ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। जबकि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो। तुलनात्मक रूपमा गत आवमा कारोबार रकममा २७.७१ प्रतिशतले संकुचन आएको देखिएको छ।

विगतको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारले ऐतिहासिक कारोबारको रेकर्ड दर्ज गरेको थियो। उक्त वर्षको कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा झन्डै १८९.२३ प्रतिशतले बढी थियो। त्यसपछि भने बजारले उक्त गति कायम राख्नु त परको कुरा, उल्टै भारी गिरावटको सामना गर्नुपर्‍यो।

राजनीतिक घटनाक्रमले हल्लायो बजार

गत आर्थिक वर्षको सुरुवातमा भने बजारले उत्साहजनक गति देखाएको थियो। जुलाईमा नेप्से ३००२ अंकसम्म समेत पुगेको थियो। तर त्यही समयमा देशमा राजनीतिक उथलपुथल भयो, अर्थात् सेप्टेम्बर ८ को जेनजी आन्दोलन। त्यसपछिका राजनीतिक घटनाक्रमका कारण बजार लामो समय बन्द हुन पुग्यो। बजारमा बिक्री दबाब बढ्यो, फलस्वरूप लगानीकर्ताले ठूलो घाटा व्यहोर्नुपर्‍यो।

आन्दोलनका बेला एक साताभन्दा बढी बन्द रहेको बजार पुनः खुलेपछि नेप्से वर्षकै न्यून विन्दु २४८७.१८ अंकमा झरेको थियो।

त्यसपछि अन्तरिम सरकारले निर्वाचनको घोषणा गर्‍यो। राजनीतिक स्थिरताको आशाले बजारमा सुधारको संकेत देखिन थाल्यो। विस्तारै नेप्से बढ्दै करिब २९६० अंकसम्म आइपुगेको थियो। त्यसपछि सुरु भयो नयाँ सरकारको व्यवसायीमाथिको धरपकड।

ठूला व्यवसायी र लगानीकर्तामाथिको धरपकडले निजी क्षेत्रको मनोबलमा मलमपट्टी लगाउनुको साटो थप मनोबल गिराउने काम भएको भन्दै कैयौँ व्यवसायीहरूले गुनासो पोखे। निजी क्षेत्रको यही कमजोर मनोबलका कारण बजार फेरि ओरालो लाग्यो।

सेयर बजारमा आशाको सञ्चार

बर्षभरी शोकमग्न बजार आर्थिक बर्ष सँकिदा भने हरियाली उन्मुख भएको छ। गत आर्थिक वर्षको बिदाइ गरिरहँदा सेयर बजारले ग्रीन सिग्नल दिएको छ। गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन असार ३२ गते बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। दिनभर दबाबमा रहेको बजारमा अन्तिम समयमा सुधारिएको हरियो अंक हेर्ने अवसर लगानीकर्ताले पाए।

यसैबीच, चालु (नयाँ) आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा हरियाली छाएपछि लगानीकर्तामा खुसीयाली छाएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबार सेयर बजार परिसूचक (नेप्से) ७९.७४ अंकले बढ्यो। यसले लगानीकर्तामा उत्साह थपेको छ।

गत आर्थिक वर्षभरि दबाबमा रहेको सेयर बजारले अन्तिम कारोबार दिन र नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै हरियाली फर्काएर सकारात्मक संकेत दिएको छ। तर यो सुधार दीगो बन्न राजनीतिक स्थिरता, स्पष्ट आर्थिक नीति र लगानीकर्ताको मनोबल पुनःस्थापना हुने वातावरण अपरिहार्य रहने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्