‘बैंकिङ क्षेत्रका अप्ठ्याराहरुलाई मौद्रिक नीतिले समेट्यो, ऋण पुन:तालिकीकरण र पुनरसंरचनाले खराव कर्जा घटाउँछ’
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले समग्रमा सकरात्मक मौद्रिक नीति लिएको बताए ।
शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक समिक्षा स्वागत योग्य रहेको अध्यक्ष केसीले बताए । उनले भने,–‘समग्रमा अर्थतन्त्रमा देखिएको समस्या चुनौतिपूर्ण छ, त्यसलाई समाधान गर्नका लागि एडजस्ट गरेर मौद्रिक नीति ल्याईएको छ, धेरै कुराहरु छलफलहरु बाटै समेटिएका कुरा आएको छ । विशेषत: बैंकिङ्ग क्षेत्रमा परिरहेको अप्ठ्यारोहरुलाई समेटिएर ल्याइएको छ ।’
पछिल्लो समयमा साना–साना ऋणिहरुलाई निकै अप्ठ्यारो भईरहेको छ, समग्रमा बिजनेश वातावरण स्लो डाउन भएको अवस्था, आयात प्रतिवन्ध लगाउँदाको चुनौतिहरुलाई पनि मौद्रिक नीतिमा एडजस्ट गर्न खोजिएको केसीले बताए । यस्तै, अप्ठ्यारोमा परेको उत्पादक क्षेत्र, कन्ट्रक्सनहरु छन् । यीनलाई नयाँ रिफाइनान्सिङ दिएर पनि सपोट गर्ने खालको मौद्रिक नीति आएको केसीले बताए ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका केसीले भने,–‘पछिल्लो समय खराब खर्जा बढी रहेको अवस्था छ । ओभरअल डिमान्डमा स्लो डाउन भइरहेको छ । कर्जामा देखिएको केही समस्याहरुलाई समाधानका लागि समेट्ने गरि मौद्रिक नीति ल्याइएको छ ।’
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विद्यमान बैंक दरलाई घटाएको छ । केन्द्रीय १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ । केन्द्रीय बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको छ । फलस्वरुप, अन्तर बैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमीे आएको राष्ट्र बैंकले जनाएको छ । दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको छ । आगामी पुस मसान्तसम्ममा ऋणपत्रलाई निक्षेप गणना गर्दा तरलतामा पनि सहज हुने केसीले बताए ।
उनले भने–‘पुससम्म ऋणपत्रलाई निक्षेपमा गणना गर्दा र अहिले ६० अर्ब रिफाइनान्सिङ हुने अवस्था छ, त्यसले तरलता प्रवाहमा सहज हुन्छ । पछिल्लो समय कर्जाको ब्याजदर पनि विस्तार घट्दै गएको छ, भविष्यमा घट्ने संकेत पनि दिन्छ । बैंक रेट घटाएपछि भविष्यमा नेपाली बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएको छ । यसलाई हामीले सकरात्मक र सन्तुलित मौद्रिक नीतिका रुपमा पाएका छौं ।’
यस्तै, ऋण पुन:तालिकीकरण र पुनरसंरचना गर्ने नीतिले खराव कर्जा घट्न पनि सहयोग पुग्ने उनले बताए । ‘अब ऋण पुनतालिकीकरण तथा पुनरसंरचना गर्ने नीतिले खराव कर्जा कम हुने सम्भावना छ,’ उनले भने, ‘अब आम व्यवसायीहरुमा व्यापार व्यवसाय गर्ने जोस आउन सक्छ । नयाँ लोनको पनि डिमान्ड हुन सक्छ । पुनतालिकीकरण र पुनरसंरचनाले खराव कर्जा सक्रिय कर्जामा आउनेछ । त्यसपछि एनपीएल घट्ने सम्भावना हुन्छ । ’













