९ बैंकले तिरे १ अर्ब माथि आयकर: नबिलले तिर्यो धेरै, एनआईसी, ग्लोबल र आरविवि अगाडि, कसले कति तिरे ?
काठमाडौं । आम्दानी तथा नाफा घटेपछि वाणिज्य बैंकहरुले सरकारलाई भुक्तानी गर्ने आयकर (इनकम ट्याक्स) पनि घटेको छ ।
चालु आर्थिक बर्ष २०७९/८० को चैत मसान्तसम्म आउँदा वाणिज्य बैंकहरुले सरकारलाई भुक्तानी गर्ने आयकर १ अर्ब १६ करोड ७४ लाख रुपैयाँले घटेको छ ।
नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । समिक्षा अवधिमा २१ बाणिज्य बैंकले सरकारलाई १९ अर्ब ९९ करोड ७५ लाख ७६ हजार रुपैयाँ आयकर बुझाएका छन् । जुन गत आवको सोही अवधीको तुलनामा ५.५९ प्रतिशतले कम हो । गत आवको समिक्षा अवधी बाणिज्य बैंकहरुले सरकारलाई २१ अर्ब १६ करोड ५० लाख ४१ हजार रुपैयाँ कर बुझाएका थिए ।
गत आव २०७८/७९ को समिक्षा अवधीमा पनि यस्तो कर भुक्तानी ३.४० प्रतिशतले घटेको थियो । बाणिज्य बैंकहरुले अघिल्लो आव २०७७/७८ को चैत मसान्तसम्म सरकारलाई २१ अर्ब ९१ करोड २० लाख ८५ हजार रुपैयाँ आय कर बुझाएका थिए ।
समिक्षा अवधिमा बैंकहरुको कुल (कर अघिको) नाफा ५.५६ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म ७२ अर्ब २० करोड ३ लाख रुपैयाँ रहेको बैंकहरुले नाफा यसपाली ६८ अर्ब १८ करोड ३९ लाख रुपैयाँ खुम्चिएको छ । यसरी नाफा घट्दा कर भुक्तानी पनि घटेको हो । कर भुक्तानी भएपछि बैंकको खुद नाफा भने ४८ अर्ब ७० करोड ४९ लाखमा सिमित भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आय कर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ ।
पछिल्लो समय बैंकहरुको नाफा तथा आम्दानी घटेकाले नै आयकर भुक्तानीमा कमी आएको हो । पछिल्लो समय देखिएको तरलता संकटका कारण बैंकहरु निक्षेपको ब्याजदर बढाएका थिए । त्यसले गर्दा बैंकहरुको खर्च बढेको थियो । तर, तरलता अभाव हुदाँ कर्जा प्रवाह हुन सकेन । त्यसमाथि उच्च ब्याजदर, आर्थिक संकट लगायतका कारण बैंकहरुमा कर्जाको माग बढेको छैन । साथै, पछिल्लो समय देखिएको आर्थिक संकटका कारण ऋणीहरुको ऋण तिर्ने क्षमतामा पनि ह्रास आएको छ । त्यसले गर्दा बैंकहरुको कर्जा असुली घटेको छ । यी यस्ता कारण बैंकहरुको आम्दानी तथा नाफा घटेको छ । फलस्वरुप आयकर भुक्तानी पनि प्रभावित भएको बैंकरहरु बताउछन् ।
समिक्षा अवधीमा सरकारको कुल राजश्व संकलन समेत घटेको छ । बैंकहरु पनि बढी कर तिर्ने क्षेत्रमा पर्छन् । तर, यो बेला बैंकहरुबाट आउने आयकर घट्दा सरकारी आम्दानी पनि प्रभावित भएको देखिन्छ ।
समिक्षा अवधीमा नविल बैंकले सबैभन्दा बढी आयकर तिरेको छ । उक्त बैंकले २ अर्ब १९ करोड २७ लाख रुपैयाँ आयकर तिरेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ५२.६३ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ आय कर सरकारलाई बुझाएको थियो ।
सरकारलाई सबैभन्दा धेरै आयकर तिर्नेको दोस्रो स्थानमा एनआईसी एसिया बैंक रहेको छ, उक्त बैंकले १ अर्ब ७२ करोड ६ लाख रुपैयाँ आयकर तिरेको छ । तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले १ अर्ब ७० करोड १६ लाख रुपैयाँ बराबरको आयकर तिरेको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७० करोड १६ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ५३ करोड २९ लाख, एनएमबिले १ अर्ब १३ करोड २६ लाख रुपैयाँ आयकर बुझाएको छ ।
यता, स्टाण्डर्ड चार्टर्डले १ अर्ब ११ करोड ८६ लाख, एभरेष्ट बैंकले १ अर्ब ५ करोड ६८ लाख र प्राइम कमर्सियल बैंकले १ अर्ब ५ करोड ६३ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।
कुन बैंकले कति तिरे आयकर ?














