बैंकिङ्ग प्रणालीमा थुप्रियो ३ खर्ब बढी तरलता, कर्जा लगानी भने सुस्त
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुम रहेको निक्षेप ७.३ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल राष्ट्रका अनुसार समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले बढेको हो । अघिल्लो आवको सोही अवधिमा भने यस्तो निक्षेप ५ प्रतिशत अर्थात २ खर्ब ३१ करोड रुपैयाँले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा चालु आवको बैशाख मसान्तसमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती तर्फ ७.६ प्रतिशत, बचत तर्फ २५.८ प्रतिशत, मुद्दति तर्फ ६० प्रतिशत र अन्य निक्षेपमा ६.५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप अंश क्रमश: ८.५ प्रतिशत, २८.१ प्रतिशत, ५६.५ प्रतिशत र ६.९ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवको बैशाख मसान्तसम्मा बैंक तथा वित्तीय संस्थाहरुश्रको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.३ प्रतिशत रहेको छ । तर, गत वर्षको बैशाख मसान्तसम्मा यस्तो निक्षेपको अंश ३८.४ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह सुस्त, एक वर्षमा ३.३ प्रतिशतले बढ्यो
निक्षेपको तुलनामा समीक्षा कर्जा प्रवाह भने सुस्त छ । चालु आवको बैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशत अर्थात १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४८ अर्ब १४ करोड अर्थात १३.४ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा गत वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ । सो अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ५.० प्रतिशतले र वित्त कम्पनीहरुको १.१ प्रतिशतले बढेको छ ।
यस्तै, समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहि रहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ । ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । गत वर्षको वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमश: १२.४ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो।
चालु आवको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जा मध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.१ प्रतिशतले वृद्धि भएको छ । यस्तै, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २१.२ प्रतिशतले रयल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.३ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले बढेको छ ।
त्यसैगरि अधिविकर्ष कर्जा ६६.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.९ प्रतिशतले र हायर पर्चेज कर्जा १२.१ प्रतिशतले घटेको छ ।












