सेबोन अध्यक्ष नियुक्तिमा फेरि नयाँ ट्वीस्ट, मन्त्रीले ‘खेले’ कि प्रत्यासीले ‘हार माने’ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया बुधबारसम्मको लागि लम्बिएको छ । सर्टलिस्टमा परेका ३ उम्मेदवार अन्तर्वार्तामा उपस्थित नभएपछि अर्को अन्तर्वार्ता बुधबारका लागि सरेको हो ।
सिफारिस समितिले आज (आईतबार) सर्टलिस्टमा परेका ५ जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर पाँच जनामध्ये २ जना मात्र उपस्थित भए । सिफारिस समितिका अनुसार दिउँसो १२ : ४५ भित्र उपस्थित हुनुपर्नेमा २ जना मात्रै उपस्थिति भएका हुन् । बाँकी ३ जना अनुपस्थित रहे ।
धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ बमोजिम सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
पाँचमध्ये तीन जना अन्तरवार्तामा नै उपस्थित नभएपछि उपस्थित भएका दुईजनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने भएको हो ।
सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि उपस्थित भए । बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अन्तर्वार्तामा गएनन् ।
माओबादी निकटस्त ३ उम्मेदवार अनुपस्थित नहुँदा कतिपयले अर्थमन्त्री वर्षमान पुनले राजनीतिक खेल खलेको आरोप समेत लगाएका छन् । राजनीतिक खिचातानीका कारण बोर्डले ६ महिनादेखि नेतृत्व पाउन सकेको छैन ।
पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो ।
फागुन दोस्रो साता सिफारिस समितिले अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए । यीमध्येबाट चैतमा ५ जनाको नाम सर्टलिस्ट गरियो । सर्टलिस्टमा परेकालाई कार्ययोजना प्रस्तुत गर्ने समय विभिन्न बहानामा धकेलिँदै लगियो । अन्तर्राष्ट्रिय लगानी सम्मेलन, बजेटको तयारी जस्ता कारण देखाउँदै धकेलिएको अन्तर्वार्ता आइतबारका लागि तय गरिएको थियो ।













