विश्वभर ८ लाखभन्दा बढी सवारी साधन बिक्री गर्दै एक्सपेंगको नयाँ कीर्तिमान
काठमाडौं । चीनको अग्रणी स्मार्ट विद्युतीय सवारी निर्माता एक्सपेंगले २०२५ जुलाई ११ सम्ममा विश्वभर ८ लाखभन्दा बढी सवारी साधन वितरण गर्दै आफ्नो बृहत् अन्तर्राष्ट्रिय यात्रामा नयाँ कीर्तिमान स्थापित गरेको छ।
यो उपलब्धि नेपालमा समेत विस्तार भैरहेको एक्सपेंगको बजार गति र लोकप्रियताको प्रमाण हो। उन्नत प्रविधि, उत्कृष्ट डिजाइन र उच्च क्षमता भएका सवारीका कारण एक्सपेंग नेपाली सवारी साधन प्रयोगकर्ताबीच भविष्यकेन्द्रित तथा स्वच्छ यातायातको पहिलो रोजाइ बन्दै गएको छ।
२०२५ को असार महिनामात्रै एक्सपेंगले ३४ हजार ६११ सवारी वितरण गर्दै अघिल्लो वर्षको तुलनामा २२४ प्रतिशत वृद्धि हासिल गरेको छ। चीनका नव उर्जा सवारी निर्माता कम्पनीहरूमध्ये यो कम्पनी चौथो स्थानमा उक्लिएको छ।
एक्सपेंगका जी ६, जी ७ र जी ९ मोडेलहरू विश्वभर लोकप्रिय भइरहेका छन्। विशेष गरी जी ७ मोडेलले ७०२ किलोमिटरको यात्रा गर्न सक्ने क्षमता र प्रवाहयुक्त स्वरूपका कारण मात्र ९ मिनेटमै १० हजार अर्डर प्राप्त गर्दै कीर्तिमान कायम गरेको थियो।
२०२५ को पहिलो छ महिनामै १ लाख ९७ हजार भन्दा बढी सवारी वितरण गर्दै कम्पनीले २०२४ को कुल वितरण संख्या पार गरिसकेको छ। कम्पनीले २०२५ को अन्त्यसम्ममा ३ लाख ८० हजार सवारी वितरण गर्ने र ६० मुलुकमा उपस्थिति विस्तार गर्ने लक्ष्य लिएको छ।
नेपालमा समेत एक्सपेंगको प्रतिबद्धता उच्च रहेको छ। कम्पनीले बिक्रीपछिको सेवा सुदृढ गर्दै, स्थानीय सेवा केन्द्र, पार्टपूर्जा आपूर्ति तथा प्राविधिक सहयोगमार्फत प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गरिरहेको छ।
सन् २०१४ मा हो स्याओपेंगद्वारा स्थापना गरिएको यो कम्पनीले विश्वव्यापी विद्युतीय सवारी क्षेत्रमा स्मार्ट प्रविधि र नवप्रवर्तनमार्फत क्रान्ति ल्याइरहेको छ। नेपालमा एक्सपेंग केवल बिजुली सवारी चलाउने ब्रान्ड मात्र होइन, यो भविष्य चलाउने सोचको प्रतीक बन्दै गएको छ।












