७ श्रावण २०८३, बिहिबार

सूर्य नेपाल प्रालीले १ वर्षमा गर्‍यो ३२ अर्ब ३५ करोडभन्दा बढीको व्यापार, नगद मौज्दात मात्रै साढे ६ अर्ब माथि



काठमाडौँ । नेपालको अग्रणी निजी क्षेत्रका उत्पादनमूलक कम्पनीमध्ये एक सूर्य नेपाल प्रालिले पछिल्ला तीन आर्थिक वर्षमा स्थिर वित्तीय आधार कायम राख्दै व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याएको छ।

चुरोट व्यवसायमा बलियो बजार पकड, न्यून ऋण, उच्च तरलता र सुदृढ नगद प्रवाहका कारण कम्पनीको वित्तीय अवस्था अझै मजबुत देखिएको छ। यद्यपि, चुरोट व्यवसायमाथिको बढ्दो करको भार र कडा नियामकीय व्यवस्थाले कम्पनीका लागि चुनौती भने कायम छ।

आर्थिक वर्ष २०२५ मा कम्पनीले ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँकाे व्यापार गरेकाे छ। गत वर्षकाे तुलनामा कम्पनीकाे व्यापार १२.३ प्रतिशतले बढेकाे हाे । यो अघिल्लो वर्ष अर्थात २०२४ मा कम्पनीले २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ बराबरकाे व्यापार गरेकाे छ। आर्थिक वर्ष २०२३ मा कम्पनीको सञ्चालन आम्दानी २८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको पूँजी संरचना पनि निरन्तर बलियो बन्दै गएको देखिएको छ। ऋण र स्वपुँजीको अनुपात आर्थिक वर्ष २०२३ मा ०.०४ गुणा रहेकामा २०२४ मा घटेर ०.०१ गुणामा झरेको थियो। आर्थिक वर्ष २०२५ मा पनि यही स्तर कायम रहनुले कम्पनीको सञ्चालन अत्यन्त न्यून ऋणमा आधारित रहेको देखाउँछ।

प्रतिवेदनअनुसार कम्पनीसँग बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालीन ऋण छैन भने दायित्व मुख्य रूपमा लिज दायित्वमा सीमित छ।

ब्याज तिर्ने क्षमता पनि उल्लेखनीय रूपमा सुदृढ बनेको छ। आर्थिक वर्ष २०२३ मा २५९.३० गुणा रहेको ब्याज भुक्तानी क्षमता २०२४ मा १५९.८२ गुणामा झरे पनि २०२५ मा फेरि सुधार हुँदै ३७०.४९ गुणामा पुगेको छ। यसले कम्पनीको नगद प्रवाह तथा आम्दानीले ब्याज दायित्व सहज रूपमा वहन गर्न सक्ने क्षमता अझ बलियो भएको देखाउँछ।

करेन्ट रेसियो भने पछिल्ला तीन वर्षमा क्रमशः घट्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०२३ मा ३.३५ गुणा रहेको यो अनुपात २०२४ मा ३.०३ गुणा र २०२५ मा २.८४ गुणामा झरेको छ। यद्यपि, यो स्तर अझै पनि पर्याप्त मानिने भएकाले कम्पनीको अल्पकालीन दायित्व भुक्तानी क्षमता सहज रहेको प्रतिवेदनले देखाएको छ।

त्यसैगरी, कुल ऋण र नगद सञ्चिति अनुपात पनि लगातार सुधारिएको छ। आर्थिक वर्ष २०२३ मा ०.०५ गुणा रहेको यो सूचक २०२४ मा घटेर ०.०२ गुणामा पुगेको थियो भने २०२५ मा पनि सोही स्तर कायम छ।

आर्थिक वर्ष २०२५ को मध्यसम्म कम्पनीसँग करिब ४ अर्ब ९७ करोड रुपैयाँ बैंक निक्षेप, १ अर्ब रुपैयाँभन्दा बढी ट्रेजरी बिल तथा २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दात रहेको छ। बलियो नगद सञ्चितिकै कारण कम्पनीले नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ ।

कम्पनीले हालै ५ अर्ब ७४ करोड रुपैयाँको ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले एक वान प्लस रेटिङ पाएको छ ।

कम्पनीले चार दशकभन्दा बढी समयदेखि चुरोट उत्पादन गर्दै आएको छ। सुर्य लेजेन्ड, सुर्य २४ क्यारेट, सुर्य लक्जरी किङ्स, सुर्य फ्युजन, सुर्य स्लिक बोल्ट, शिखर फिल्टर किङ्स, शिखर आइस रश, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, नौलो म्याक्स, पल्स मिन्ट पञ्च, खुकुरी स्टार, विजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन तथा बिक्री गर्दै आएको छ।

चुरोट व्यवसायबाट नै अधिकांश आम्दानी गर्ने भए पनि कम्पनीले अगरबत्ती, प्याकेज्ड खाद्य पदार्थ तथा हालै ‘मरानी’ ब्रान्डअन्तर्गत प्रिमियम मह निर्यातसमेत सुरु गरेको छ। साथै, व्यवसाय विविधीकरणका लागि होटल क्षेत्रमा प्रवेश गर्ने तयारी पनि कम्पनीले गरिरहेको छ ।

यद्यपि, कम्पनीको आम्दानी अझै पनि चुरोट व्यवसायमै अत्यधिक निर्भर छ। चुरोटमा बढ्दो कर, कडा नियामकीय व्यवस्था तथा अवैध सुर्तीजन्य वस्तुसँगको प्रतिस्पर्धा कम्पनीका प्रमुख जोखिमका रूपमा रहेको केयर रेटिङ्स नेपालले औंल्याएको छ। त्यसका बाबजुद बलियो ब्रान्ड, व्यापक वितरण सञ्जाल, न्यून ऋण, उच्च नाफा क्षमता र भारतको आईटीसी लिमिटेडको व्यवस्थापकीय तथा प्राविधिक सहयोगका कारण कम्पनीको समग्र वित्तीय अवस्था मजबुत देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्