नेपालमा फेरि वामपन्थी सहकार्यको बहस, नयाँ ध्रुवीकरणले राजनीतिक वृत्तमा पैदा गर्‍यो तरङ्ग « Arthapath.com
१५ असार २०८३, सोमबार

नेपालमा फेरि वामपन्थी सहकार्यको बहस, नयाँ ध्रुवीकरणले राजनीतिक वृत्तमा पैदा गर्‍यो तरङ्ग



राजनीतिक सुरक्षा र राष्ट्रिय स्वाधीनताका लागि शीर्ष कम्युनिस्ट नेताहरूले वामपन्थी सहकार्यको खाँचो औँल्याए पनि एमालेभित्र नेतृत्व पुनर्गठनको बहस पेचिलो बन्दै गएको छ।

काठमाडौँ । काठमाडौँमा हालै दुई ठूला कम्युनिस्ट पार्टीका चार जना शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिए। लामो समयपछि भएको यो मिलन र उनीहरूले वामपन्थी सहकार्यमा दिएको जोडले नेकपा एमालेभित्र नयाँ बहस र तरङ्ग पैदा गरिदिएको छ।

शीर्ष नेताहरू मिलेर अघि बढ्ने तयारी गरिरहँदा पार्टीका अन्य नेताहरूमा भने यसलाई लिएर आशङ्का र असन्तुष्टि सल्किएको देखिन्छ। एमाले महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमा कार्ल मार्क्सको भनाइ उद्धृत गर्दै समय र परिस्थिति फेरिएपछि विगतका घटना वा नारालाई हुबहु दोहोर्‍याउनु उचित नहुने धारणा राखे।

उनको यो असहमति एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामकारबाहीविरुद्ध एक ठाउँमा उभिने भनी बनाएको साझा मततर्फ लक्षित रहेको बुझ्न गाह्रो पर्दैन।

यही सन्दर्भमा एमाले उपाध्यक्ष रघुजी पन्तले अहिलेको नेपाली राजनीतिको मुख्य आवश्यकता पुनर्गठन भएको विचार राखे। नेपाली कांग्रेस अहिले त्यही प्रक्रियामा रहेको भन्दै उनले एमालेभित्र पनि नीति र नेतृत्व दुवैमा पुनर्गठनको माग व्यापक रूपमा उठेको दाबी गरे।

सरकारका गलत कदमका विरुद्ध आवश्यकता अनुसार कार्यगत एकता हुनु स्वाभाविक भए पनि एकताको नारा दिएर पार्टी पुनर्गठनको मुख्य मुद्दालाई ओझेलमा पार्न नहुने उनको तर्क छ। महासचिव पोखरेल लगायतका नेताहरूले विगतमा ओलीलाई साथ दिँदै आएका भए पनि अहिले उनीहरू नै ओलीलाई अध्यक्ष पदबाट हटाउने गृहकार्यमा लागेको चर्चाबीच यो नयाँ राजनीतिक दृश्य देखा परेको हो।

पार्टी महाधिवेशनमा ओली पक्षलाई चुनौती दिने समूहले पहिलेदेखि नै उनलाई नेतृत्व छाड्न दबाब दिँदै आएको थियो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सार्वजनिक रूपमै यस्तो धारणा राख्दै अध्यक्षमा चुनाव लड्ने सङ्केत गरेकी थिइन्, तर पार्टीले उनलाई सदस्यता नदिएपछि ईश्वर पोखरेलको नेतृत्वमा रहेको समूहले महाधिवेशनमा ओली पक्षसँग प्रतिस्पर्धा गरेको थियो।

अहिले आफ्नै पक्ष र इतर खेमाका नेताहरू मिलेर आफूलाई विस्थापित गर्न खोजेपछि अध्यक्ष ओलीले बच्नका लागि यो नयाँ राजनीतिक चाल चलेको धेरैको अनुमान छ।

ओलीको रणनीति र प्रचण्डको बदलिँदो शैली

अर्कातिर, माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा, निरङ्कुशता र वैदेशिक हस्तक्षेपको प्रतिरोधका लागि वामपन्थी तथा देशभक्तहरू तत्काल एक हुनुपर्नेमा जोड दिए। उनले संसद्, सडक र आगामी चुनावमा समेत मिलेर जान प्रस्ताव गर्दै जति ढिलो गर्‍यो, त्यति नै ठूलो राजनीतिक दुर्घटना हुने चेतावनी दिए।

तर, एमाले नेता गोकुल बास्कोटाले प्रचण्डको यो प्रस्तावप्रति तीखो टिप्पणी गरेको खबर बीबीसी नेपाली सेवाले लेखेको छ । उनले यसलाई आफ्नो असफलता लुकाउने र सत्तामा टिकिरहने एउटा भुत्ते हतियारको संज्ञा दिए। बास्कोटाले यदि वास्तवमै सुधार र शक्ति आर्जन गर्न खोजेको हो भने पहिले पार्टी फुटाएर गल्ती भयो भनी स्वीकार गर्न र आफू पछि हटेर सहकर्मीलाई अगाडि बढाउन चुनौती दिएका छन्।

विगतमा ओलीले आफू प्रधानमन्त्री हुँदा भएका भदौ २३ र २४ गतेका घटनालाई ‘षड्यन्त्र’ भन्दै आएका थिए र चुनावले त्यसलाई राजनीतिक आवरण दिएको आरोप लगाउँदै आएका थिए। पहिले चुनाव नभए ठूलो दुर्घटना हुने बताउने प्रचण्डले पनि पहिलो पटक सोही मञ्चबाट भदौ २४ को घटना र चुनावलाई षड्यन्त्रकै परिणामका रूपमा स्वीकार गरे।

ओलीले सोही कार्यक्रममा आफूले अन्य दलहरूलाई चुनावमा भाग नलिन आग्रह गरे पनि उनीहरूले एमालेका लागि चुनाव भीरको बाटो र आफ्ना लागि राजमार्ग ठानेको भन्दै टिप्पणी गरे। देश विरोधी प्रतिगमनको शृङ्खला अघि बढिरहेको भन्दै उनले सबै वामपन्थी र लोकतान्त्रिक शक्तिलाई मिल्न आग्रह गरे।

कुनै समय ओलीले संसद् विघटन गर्दा उनलाई प्रतिगमनकारी भन्दै सडकमा उत्रिएका प्रचण्ड अहिले चुनावका विषयमा ओलीकै राजनीतिक लाइनमा आइपुगेको विश्लेषण हुन थालेको छ। अर्थराजनीतिक विश्लेषक हरि रोकाका अनुसार पनि प्रचण्डको यो फेरिएको दृष्टिकोण इन्डो-अमेरिकन वर्चस्व बढ्ने र वामपन्थीहरू दबाबमा पर्ने डरका कारण सिर्जना भएको हो।

उनले ओलीको सहकार्यको प्रस्तावमा आफ्ना विगतका गल्तीहरूको खोजीनीति भई फसिने डर र राजनीतिक सुरक्षाको स्वार्थ लुकेको हुन सक्ने अनुमान गरे।

विद्या भण्डारीको पुनरागमन

महाधिवेशन अघि सदस्यता नपाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही साताअघि मात्रै एमालेको सदस्यता पाएकी छन्। ओलीलाई नेतृत्वबाट हटाउने आवाज तीव्र बनेपछि एमाले बैठकले उनलाई सदस्यता दिने निर्णय गरेको हो। त्यसअघि ओली र भण्डारीबीच पटक-पटक संवाद भएको थियो।

मदन भण्डारी फाउन्डेसनले वामपन्थी सहकार्यको वातावरण बनाउन भण्डारीकै नेतृत्वमा अग्रसरता लिएको मानिन्छ, जसका कारण ओलीले आफ्नो विकल्पका रूपमा भण्डारीलाई अघि सार्न खोजेको अडकलबाजी पनि भइरहेको छ। यही आशंकाका कारण ओलीका पुराना सहयोगीहरूले यो सहकार्यप्रति प्रश्न उठाएको हुन सक्ने अनुमान छ।

यसबारे उपाध्यक्ष पन्तले सीधा टिप्पणी नगरे पनि नेताहरूले सम्मानजनक बिदाइ लिएर अभिभावक बनिदिए अनावश्यक द्वन्द्व समाधान हुने र आम कार्यकर्ताको चाहना पनि यही रहेको बताए। भण्डारी निकट मानिने नेता कर्णबहादुर थापा जुनसुकै एकताका लागि पनि पुनर्गठन अनिवार्य रहेको ठान्छन्।

अर्का नेता विष्णु रिजाल भने आम मानिसमा पार्टी र नेतृत्वप्रति चरम अविश्वास रहेको र गल्ती नस्वीकार्दासम्म जनताले नेताका कुरा नसुन्ने बताउँछन्। उनले सामाजिक सञ्जाल, चिया पसल र सार्वजनिक यातायातमा सुनिने नागरिकका कुराले नेताहरूको आत्मरति र आम मनोविज्ञानबीचको ठूलो दूरी देखाउने उल्लेख गरे।

पार्टीभित्र भण्डारीको पुनरागमन र पुनर्गठनका लागि निर्णायक मानिएका उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीको प्रभावलाई जोडेर पनि विश्लेषण भइरहेको छ। तर, एमाले नेताहरूका अनुसार यी घटनाक्रमले नेतृत्व परिवर्तनसहितको पुनर्गठनको प्रक्रिया रोकिने छैन।

नेता थापाका अनुसार विद्या भण्डारीलाई नेतृत्व सुम्पन पनि ओलीले पद छाड्नै पर्छ, जुन अन्ततः दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनु नै हो। पन्तले पनि वाम एकताको चर्चाले मात्रै देशभरिका कार्यकर्ताको माग रहेको पार्टी पुनर्गठनको मुद्दालाई रोक्न नसक्ने सफा पारे।


प्रतिक्रिया दिनुहोस्