फक्सवागनले ल्यायो अत्याधुनिक हाइब्रिड गाडी, २००० किलोमिटर रेन्ज!
फक्सवागनले एक पटकको फुल चार्ज र फुल ट्याङ्की इन्धनमा दुई हजार किलोमिटरसम्म गुड्न सक्ने अत्याधुनिक हाइब्रिड सेडान गाडीको भित्री रूपरेखा चीनमा सार्वजनिक गरेको छ।
काठमाडौँ । फक्सवागन कम्पनीले एक पटकको इन्धन र चार्जमा दुई हजार किलोमिटरभन्दा बढी गुड्न सक्ने ‘आईडी. एरा एस५’ प्लग-इन हाइब्रिड सेडान गाडीको भित्री डिजाइन चीनमा सार्वजनिक गरेको छ।
एसएआइसी र फक्सवागनको संयुक्त लगानीमा विकास भइरहेको ‘आईडी. एरा’ मोडेल अन्तर्गत यो गाडी यसै वर्ष चिनियाँ बजारमा प्रवेश गर्ने तयारीमा छ।
यसअघि सन् २०२६ को अप्रिल महिनाको अन्त्यतिर यी दुई कम्पनीले संयुक्त रूपमा चीनमा ‘आईडी. एरा ९एक्स’ क्रसओभर गाडी बजारमा ल्याएका थिए। नेपाली रुपैयाँ झन्डै ६९ लाख ३९ हजार ५२० देखि ८० लाख ५९ हजार ५२० (३ लाख ९ हजार ८०० देखि ३ लाख ५९ हजार ८०० युआन) सम्म मूल्य तोकिएको उक्त गाडी अप्रिलदेखि मे महिनासम्ममा ७ हजार ३३० थान बिक्री भइसकेको छ।
सोही सफलतापछि साङ्घाईमा मुख्यालय रहेको सरकारी स्वामित्वको सवारी उत्पादक र फक्सवागनले सर्वसाधारणलाई लक्षित गर्दै आफ्नो दोस्रो गाडीका रूपमा ‘एस५’ सेडान बजारमा ल्याउन लागेका हुन्।
भित्री बनावट र प्रविधि
नयाँ फक्सवागन आईडी. एरा एस५ को भित्री डिजाइनलाई कम्पनीले निकै सरल र आधुनिक रूप दिएको छ। यसमा एउटा ठूलो फ्लोटिङ स्क्रिन, ‘डबल-डी’ आकारको स्टेरिङ ह्विल र स्टेरिङको डन्डीमै जडान गरिएको गियर सिफ्टर राखिएको छ।
गाडीको अगाडि सानो एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। चालक र यात्रुको बीचमा रहने सेन्टर टनेलमा ताररहित (वायरलेस) चार्जिङ प्याड, आकस्मिक बत्तीको बटन, कप राख्ने ठाउँ र एउटा लुकेको भण्डारण कक्ष बनाइएको छ।
कम्पनीले सार्वजनिक गरेको आधिकारिक तस्बिर अनुसार यो गाडी केवल ब्याट्रीको पावरमा मात्र १६० किलोमिटरसम्म गुड्न सक्छ। गाडीको भित्री भाग डार्क र लाइट गरी दुईवटा रङको विकल्पमा उपलब्ध हुनेछ। यसको अर्को विशेषता भनेको ढोका र ड्यासबोर्डसम्मै फैलिएको एम्बियन्ट लाइटिङ स्ट्रिप हो।
यसका ढोकाहरू एउटा बटन थिचेरै खोल्न सकिन्छ, तर चीनको पछिल्लो मापदण्ड अनुसार यसमा हातैले तान्न मिल्ने मेकानिकल लक खोल्ने प्रणाली पनि राखिएको छ।
गाडीको आकार र क्षमता
यो एउटा मध्यम आकारको सेडान गाडी हो, जसको लम्बाइ ४,८३६ मिलिमिटर, चौडाइ १,८८० मिलिमिटर र उचाइ १,५०५ मिलिमिटर छ। यसको ह्विलबेस २,७६६ मिलिमिटर रहेको छ। युरोपेली बजारमा उपलब्ध फक्सवागन पास्याट बी९ सँग तुलना गर्दा यो गाडी ८१ मिलिमिटर छोटो, २८ मिलिमिटर फराकिलो र १ मिलिमिटर होचो छ।
यसको बाहिरी डिजाइनमा आधा लुकेका ढोकाका ह्यान्डलहरू, विभाजित हेडलाइट र हावा बाहिर-भित्र पठाउने सक्रिय एअर इनटेक प्रणाली समावेश गरिएको छ।
यसअघि सार्वजनिक भएका विवरण अनुसार यो गाडीमा १.५ लिटरको इन्धन इन्जिन छ जसले ८० किलोवाट (१०७ हर्सपावर) शक्ति दिन्छ भने यसमा १३० किलोवाट (१७४ हर्सपावर) को विद्युतीय मोटर पनि जोडिएको छ।
ब्याट्री सकिएका बेला यसले प्रति १०० किलोमिटरमा २.८२ लिटर मात्र इन्धन खपत गर्छ। इन्धन र ब्याट्री दुवैको मिश्रणबाट यो गाडीले २,००० किलोमिटरभन्दा बढीको माइलेज दिनेछ। यसका साथै यो गाडीमा सहरी सडक र राजमार्गहरूमा आफैं गुड्न सक्ने ‘नेभिगेट अन अटोपाइलट’ (एनओए) प्रविधि समेत उपलब्ध हुने बताइएको छ।













