मोरंग व्यापार संघ र स्नाकोत्तर क्याम्पस विराटनगर बीच एओयू सम्झौता « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

मोरंग व्यापार संघ र स्नाकोत्तर क्याम्पस विराटनगर बीच एओयू सम्झौता



काठमाडौं । मोरंग व्यापार संघ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको स्नाकोत्तर क्याम्पस, विराटनगर बीच जेठ १३ गते एक समझदारी भएको हो । शुक्रवारका दिन मोरंग व्यापार संघको सचिवालयमा संघका अध्यक्ष नवीन रिजाल र स्नाकोत्तर क्याम्पस, विराटनगरका नि. क्याम्पस प्रमुख जयनारायण श्रेष्ठ बीच एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

समझदारी पत्रमा, वर्तमान उद्योग÷व्यवसायको अवस्था, प्राकृतिक वातावरण, जैविक विविधता लगायत अन्य विविध समस्याहरु र तिनका समाधानका लागि सम्वन्धित सरकारी निकायहरु बीच समन्वय, सहकार्य, अनुसन्धान गरी प्राप्त यथार्थ निचोडलाई सरकारका सम्वन्धित निकायहरुमा सुझाव तथा कार्यान्वयनका लागि पहल गर्ने हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । यसवाट उद्योग व्यवसाय र उच्च शिक्षा प्रदायक निकाय बीच हुने अन्तर संवाद र सहकार्यले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको अवसर प्राप्त हुने र उद्योग व्यवसायीहरुलाई उच्च शिक्षा प्राप्त गर्दै गरेका युवा विद्यार्थीहरुसँग सहकार्यबाट प्राप्त व्यवहारिक एवं सैद्धान्तिक ज्ञानलाई उर्जाशील र उत्पादकत्व बढाउन अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।

उक्त अवसरमा संघका उपाध्यक्ष विकास कुमार बेगवानी, महासचिव अनिल सारडा, सचिव सञ्जय श्रेष्ठ, का.का. सदस्य दीपेश सुवेदी, सुशील सुराना, महिला उद्यम समितिकी संयोजक वन्दना जैन, सिइओ कृष्ण रेग्मी र स्नाकोत्तर क्याम्पस, विराटनगरका तर्फवाट विभिन्न विषयका प्राध्यापकज्यूहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्