फल्क्सवागनको नयाँ एसयूभी नेपाली बजारमा, भारतभन्दा ३ गुणा महँगो « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

फल्क्सवागनको नयाँ एसयूभी नेपाली बजारमा, भारतभन्दा ३ गुणा महँगो



काठमाडौं । जर्मनीको कार निर्माता कम्पनी फल्क्सवागनले उत्पादन गरेको नयाँ मोटर नेपाल भित्रिएको छ । ‘टाइगुन’ नाम दिइएको उक्त एसयूभी कारको नयाँ मोडेल पहिलो पटक नेपाल त्रिएको हो । नेपालका लागि उक्त ब्राण्डको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले नयाँ गाडी सार्वजनिक गरेको छ ।

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिञ्जले एक कार्यक्रबीच एसयूभीको उक्त मोडल सार्वजनिक गरेका हुन् । नेपाली बजारमा यस प्रकारका कम्प्याक्ट एसयूभीहरुमध्ये टाइगुनको पावर र टर्क सबैभन्दा बढी रहेको दाबी गरिएको छ । जसले ११४ हर्जपावर र १७८ एनएम (न्यूटन मिटर) टर्क उत्पादन गर्छ । यो गाडीको इञ्जिन क्षमता हो ।

कम्पनीले तीन भेरियन्टका टाइगुन सार्वजनिक गरेको छ । फक्सवागन टाइगुनको सुरुआती भेरियन्ट (कम्फर्टलाइन)को मूल्य सीमित अवधिका लागि ५० लाख ९० हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । यही गाडी भारतीय बजारमा भारु. १० लाख ४९ हजार (१६ लाख ७८ हजार रुपैयाँ) पर्छ ।

तीनमध्ये बाँकी दुई भेरियन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार तोकिएको छ । भारतमा यसको मूल्य भारु. १२ लाख ८० हजार छ । टाइगुन टपलाइनको प्रारम्भिक मूल्य नेपालमा ६९ लाख ९० हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । यो गाडी भने भारतमा भारु. १४ लाख ५७ हजार पर्छ ।

उत्तर अमेरिकी जंगल ‘टाइगा’बाट गाडीको नाम ‘टाइगुन’ राखिएको कम्पनीले जनाएको छ । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी टाइगुन डिजाइन गरिएको कम्पनीको भनाइ छ । फल्क्सवागनले यो कार छिमेकी भारतमै उत्पादन गरेको हो । त्यहाँ यो गाडी गएको २३ सेप्टेम्बरमा ‘लञ्च’ गरिएको थियो । टिकाउ, वातावरणमैत्री र सुरक्षाको हिसाबले यो गाडी उपयुक्त हुने कम्पनीको दाबी छ ।

४० भन्दा बढी सुरक्षात्मक संयन्त्र जडान गरिएको र यस अघिका टिगुआन, ट्वारेगजस्ता ठूला गाडीमा प्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेजसमेत यसमा प्रयो गरिएको कम्पनीले जनाएको छ । यो गाडी शहरी क्षेत्रमात्र होइन, राजमार्ग र कच्चा बाटोमा कुदाउन पनि उत्तिकै मज्जा आउने दाबी विक्रेता कम्पनीको छ ।

फल्क्सवागन टाइगुनले ९.१ सेकेन्डमै १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्ने दाबी कम्पनीको छ । कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने जनाएको छ । पहिलो वर्ष कम्पनीले नेपालमा करिब एक हजार वटा टाइगुन गाडी बिक्री गर्ने लक्ष्य राखेको छ ।

जर्मनीमा हिटलरको अधिनायकबादी शासन चलिरहेकै बेला आजभन्दा ८४ वर्षअघि फल्सवागन स्थापना भएको थियो । हिटलरकै राजनीतिक दल ‘नाजी पार्टी’को श्रमिक संगठन ‘जर्मन लेबर फ्रण्ट’ले यो कम्पनी शुरु गरेको हो । जर्मन भाषामा ‘फल्क्स’ भनेको जनता र ‘वागन’को अर्थ हिम्मत हुन्छ । अर्थात् ‘जनताको आँट’ भन्ने ब्राण्डमा गाडी उत्पादन गर्ने यो कम्पनी अहिले संसारको सबैभन्दा ठूलो कार निर्माता हो ।


प्रतिक्रिया दिनुहोस्