भाैतिक उपस्थिति बिना ईभी जाँचपास: रसुवा भन्सारका प्रमुखसहित १३ कर्मचारी निलम्बित, ५ ठूला कम्पनीमाथि कारबाही
काठमाडौँ। भौतिक रूपमा गाडी नै आइ नपुगी कागजपत्रको आधारमा मात्र विद्युतीय सवारी जाँचपास गरेको भेटिएपछि रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ जना कर्मचारी निलम्बनमा परेका छन्।
विद्युतीय सवारी साधनको जाँचपास तथा आयातको सन्दर्भमा सार्वजनिक रूपमा प्रश्नहरू उठेपछि अर्थ मन्त्रालय र भन्सार विभागको गम्भीर ध्यानाकर्षण भएको थियो।
यसबारे यथार्थ वस्तुस्थिति पत्ता लगाउन विभागले रसुवा भन्सारका लागि जेठ १७ गते र मुस्ताङ भन्सारका लागि जेठ २१ गते निर्देशकको नेतृत्वमा अनुगमन टोली खटाएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको उक्त टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएको हो।
उक्त प्रतिवेदन अनुसार मुस्ताङ भन्सारबाट जेठ १२ र १३ गते ९ वटा प्रज्ञापनपत्र मार्फत जाँचपास भएका ६४९ वटा विद्युतीय गाडीहरू नियमानुसार नै नेपाल भित्रिएको पाइएको छ। टोलीले सीसीटीभी फुटेज र अभिलेख अध्ययन गर्दा ती गाडी जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको पुष्टि भएको छ।
तर, रसुवा भन्सार कार्यालयमा भने गाडी नै नआई कागजकै भरमा जाँचपास गरिएको गम्भीर कानूनी उल्लंघन फेला परेको छ। पदीय जिम्मेवारी पूरा नगरेको र कानूनी प्रक्रिया मिचेको देखिएकाले विभागले तत्कालीन कार्यालय प्रमुखसहित १३ कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाही अघि बढाएको हो।
कागजातका आधारमा मात्र गैरकानूनी रूपमा गाडी जाँचपास गराउने कार्यमा संलग्न ५ वटा ठूला विद्युतीय सवारीसाधन आयातकर्ता कम्पनीहरूमाथि पनि कारबाही अघि बढाइएको छ। कारबाही प्रक्रिया अघि बढाइएका कम्पनीहरूमा लक्ष्मी ई-मोबिलिटी, साइमेक्स इंक , सीजी मोटर्स, पुजा इन्टरनेश्नल नेपाल र पुजा कन्स्ट्रक्सन नेपाल रहेका छन्।
यसका साथै सो कार्यमा संलग्न एजेन्ट नम्बर २४८, एजेन्ट नम्बर ८३३, र एजेन्ट नम्बर ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई पनि प्रचलित भन्सार कानून बमोजिम कारबाही गर्न रसुवा भन्सार कार्यालयलाई निर्देशन दिइएको छ।












