बीमा प्राधिकरण र राष्ट्र बैंकबीच विदेशी मुद्रा सटहीसम्बन्धी अन्तर्क्रिया सम्पन्न « Arthapath.com
५ असार २०८३, शुक्रबार

बीमा प्राधिकरण र राष्ट्र बैंकबीच विदेशी मुद्रा सटहीसम्बन्धी अन्तर्क्रिया सम्पन्न



काठमाडौं। नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज नेपाल राष्ट्र बैंकसँग बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बीमा व्यवसायको विस्तारसँगै पुनर्बीमा, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय कारोबार तथा विदेशी मुद्रामा हुने भुक्तानी प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउन सम्बन्धित निकायहरूबीच सहकार्य तथा नीतिगत समन्वय अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुदीप देव सुवेदीले बीमा व्यवसायसँग सम्बन्धित विदेशी मुद्रा सटहीमा देखिएका प्राविधिक समस्याहरू समाधान गर्न नेपाल राष्ट्र बैंकसँग घनिभूत छलफल भइरहेको र त्यसका निष्कर्षका आधारमा द्विपक्षीय सहकार्य अझ सुदृढ बनाइने बताए।

उनले बीमा नियमावलीले केही विषयमा मार्गप्रशस्त गरे पनि बाँकी व्यवहारिक समस्या निर्देशिका मार्फत समाधान गरिने जानकारी दिए। त्यसैगरी नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेलले बीमा व्यवसायसँग सम्बन्धित विदेशी मुद्रा कारोबारलाई सहज, पारदर्शी, सुरक्षित तथा अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य बनाउन नेपाल बीमा प्राधिकरणसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरें।

उनले तत्काल सम्बोधन गर्नुपर्ने विषयमा सुझावका आधारमा अघि बढ्ने र नीतिगत समन्वय कायम गर्न निरन्तर सहकार्य गरिने उल्लेख गरें। नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले विदेशी मुद्रा सटहीसम्बन्धी व्यवहारिक समस्या समाधानका लागि सरोकारवाला निकायबीच छलफल आवश्यक भएको बताए। नेपाल राष्ट्र बैंकका निर्देशक बुद्दराज शर्माले बीमा व्यवसाय विस्तारसँगै उत्पन्न हुने जोखिम न्यूनीकरणमा नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणबीचको सहकार्य महत्वपूर्ण हुने बताए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजुले बीमक र पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी विद्यमान व्यवस्था बारे प्रस्तुति दिए । त्यसैगरी नेपाल राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठले बीमा व्यवसायका लागि विदेशी मुद्रा सटहीसम्बन्धी विद्यमान व्यवस्था प्रस्तुत गरें।

कार्यक्रममा सहभागीहरूले बीमा व्यवसाय विस्तारसँगै विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका पदाधिकारी, नेपाल बीमक संघ र निर्जीवन बीमक संघ नेपालका पदाधिकारी, विभिन्न वाणिज्य बैंकका प्रतिनिधि, बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुख तथा पुनर्बीमा दलालहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्