काे हुन् सरकारले धितोपत्र बोर्डकाे अध्यक्षमा नियुक्त गरेका डा. गोपालप्रसाद भट्ट ? « Arthapath.com
५ असार २०८३, शुक्रबार

काे हुन् सरकारले धितोपत्र बोर्डकाे अध्यक्षमा नियुक्त गरेका डा. गोपालप्रसाद भट्ट ?



काठमाडौँ। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई पूँजी बजारको नियामक निकायको कमान्ड सम्हाल्ने गरी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष डा. भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टका दाजु हुन्।

भट्टको स्थायी घर कैलालीको धनगढी उपमहानगरपालिका-५, हसनपुर हो। हाल उनी काठमाडौँको टोखा नगरपालिका-७, आदर्श कालोनीमा बस्दै आएका छन्।

उनीसँग नेपालको केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) मा करिब ३० वर्ष विशिष्ट सेवा गरेको लामो अनुभव छ। राष्ट्र बैंकमा विशेष श्रेणी (विशिष्ट श्रेणी) को कार्यकारी निर्देशक पदबाट अवकाश पाएका डा. भट्ट मौद्रिक नीति, वित्तीय क्षेत्र नियमन, सरकारी ऋण व्यवस्थापन र समष्टिगत आर्थिक अनुसन्धानका सिद्धहस्त विज्ञ मानिन्छन्।

शेयर बजारमै विद्यावारिधि र प्राज्ञिक पृष्ठभूमि

पूँजी बजारको सर्वोच्च पदमा नियुक्त डा. भट्ट प्राज्ञिक रूपमा पनि सोही क्षेत्रमा स्थापित नाम हो। उनले सन् २००९ मा त्रिभुवन विश्वविद्यालयबाट वित्तीय व्यवस्थापन (फाइनान्स) अन्तर्गत ‘नेपालको शेयर बजारको सक्षमता’ (स्टक मार्केट इफिसियन्सी इन नेपाल) विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्।

त्यसअघि उनले त्रिभुवन विश्वविद्यालयबाटै सन् १९९३ मा एमबीए र १९८९ मा बीबीए पूरा गरेका थिए। उनले विभिन्न प्रतिष्ठित कलेजहरूमा ‘इन्भेस्टमेन्ट एनालिसिस’, ‘फाइनान्सियल डेरिभेटिभ्स’ र ‘कर्पोरेट फाइनान्स’ जस्ता जटिल विषयहरूमा २५ वर्षभन्दा बढी प्राध्यापन समेत गरिसकेका छन्।

नीतिगत सुधार र राष्ट्र बैंकका विभिन्न विभागको नेतृत्व

३० वर्षे सेवाका दौरान उनले नेपाल राष्ट्र बैंकका अत्यन्तै महत्त्वपूर्ण र रणनीतिक विभागहरूको नेतृत्व सम्हालेका थिए।

उनले अनुसन्धान विभाग, बैंक सुपरीवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्तीय व्यवस्थापन विभाग, र मानव संसाधन व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रूपमा काम गरे।

मौद्रिक नीति निर्माण, उपभोक्ता मूल्य सूचकांक (सीपीआई ) विकास आयोजनाको नेतृत्व, र वित्तीय क्षेत्र सुधार कार्यक्रममा उनको भूमिका महत्त्वपूर्ण थियो। उनीसँग अर्थ मन्त्रालय अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा सञ्चालित ‘पूँजी बजार तथा पूर्वाधार विकास आयोजना’ मा सदस्य भई काम गरेको अनुभव पनि छ।

सञ्चालक र सल्लाहकारको भूमिका

नियामक निकायमा आउनुअघि उनले पूँजी बजार र बैंकिङ क्षेत्रका बोर्डहरूमा रहेर पनि काम गरिसकेका छन्। उनी सन् २०२० देखि २०२२ सम्म सानिमा क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालक र २०२२ अप्रिलदेखि २०२६ अप्रिलसम्म नेपाल एसबीआई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत थिए।

यसबाहेक उनले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा परामर्शदाताका रूपमा नीतिगत योगदान दिएका छन्।

अन्तर्राष्ट्रिय एक्सपोजर र सामाजिक छवि

डा. भट्टले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, फेडरल रिजर्व बैंक अफ न्यूयोर्क र सिएसेन सेन्टर जस्ता विश्वविख्यात संस्थाहरूबाट उच्च-स्तरीय वित्तीय तालिमहरू लिएका छन्। उनले अमेरिका, स्विट्जरल्याण्ड, अस्ट्रिया, सिङ्गापुर, कोरिया लगायत दर्जनौँ देशको भ्रमण गरी वित्तीय नीतिहरूको अध्ययन गरेका छन्।

नेपाल पीएचडी एशोसिएशन र नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य रहेका भट्ट आध्यात्मिक क्षेत्रमा समेत जोडिएका छन्। उनी समर्थगुरु धाराका ‘अग्रणी आचार्य’ समेत हुन्।

लामो समयदेखि नेतृत्वविहीन जस्तै बनेको र अनेकौँ नीतिगत उल्झनमा फसेको नेपाल धितोपत्र बोर्डले देशको समष्टिगत अर्थतन्त्र, पूँजी बजार र नियमन प्रणालीलाई नजिकबाट बुझेको परिपक्व विज्ञ नेतृत्व पाएको छ। उनको ३० वर्षे बैंकिङ र वित्तीय क्षेत्रको अनुभवले नेपालको शेयर बजारको सुधार र नयाँ नीतिगत फड्को मार्न ठूलो सहयोग पुग्ने अपेक्षा बजारले गरेको छ।


प्रतिक्रिया दिनुहोस्