‘नाडा अटो शो २०२३’ को विशाल प्रदर्शनी आज सकिँदै, पाँच दिनमा ६६ हजारको उत्साहजनक सहभागिता

काठमाडौं । ‘नाडा अटो शो २०२३’ आज सकिँदै छ । गत मङ्गलवारदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको उक्त शो आइतबार अन्तिम दिन रहेको छ ।
शोमा पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको उक्त शोमा ६५ हजार ९०० भन्दा बढी अवलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रहेको छ ।
पाँचौँ दिन अर्थात् शनिवारसम्म आइपुग्दा सो बराबरको सङ्ख्यामा नाडा अटोको शोको भ्रमण गरेका छन् । नाडाका महासचिव सुरेन्द्र उप्रेतीका अनुसार शनिवार मात्रै १६ हजार बढीले अटो शो अवलोकन गरेका छन् । उनले भने,–‘पाँचौँ दिनसम्म आइपुग्दा अटो शोमा अवलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रह्यो । पहिलो दिन साढे हजारको सहभागिता रहेको थियो । तर, पाँचौँ दिनसम्म आइपुग्दा भने एकै दिन करिब साढे १६ हजार जनाले अटो भ्रमण गरेका छन् ।’
निजी प्रयोजनका लागि उपयुक्त विशेष गरी चार पाङ्ग्रे सवारी, मोटरसाइकल तथा स्कुटरमा अवलोकनकर्ताको उपस्थित बाक्लो छ । उनले भने,–‘नाडा अटो शोमा अवलोकनकर्ताहरूको भिड निकै नै उत्साहजनक भएको छ । प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू छन् । त्यसमा निकै भिडभाड देख्न सकिन्छ ।’
विशेष गरी विद्युतीय सवारीहरूको स्टलमा निकै नै भिड देख्न सकिन्छ । पछिल्लो समय विद्युतीय सवारीमा आम मानिसका क्रेज बढ्दो नै छ । नयाँ तथा पुराना विद्युतीय सवारीको बारेमा बुझ्न चाहनेहरूको र हेर्न चाहनेहरूको निकै भिड बढी देख्न सकिन्छ ।
उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् । प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।
विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विशेष ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन राखिएको छ । शोमा १२० वटा स्टल तथा ब्लकहरू रहेका छन् । करिब २० अर्बको कारोबार हुने अनुमान गरिएको अटो शोमा ७५ हजार अवलोकनकर्ताले भ्रमण गर्ने नाडाको अपेक्षा थियो ।