एक महिनामै आठ गुणाले बढ्यो विद्युतीय सवारी आयात, भदौमा मात्रै ७८८ वटा इभि नेपाल भित्रीए « Arthapath.com
७ आश्विन २०८०, आईतवार

एक महिनामै आठ गुणाले बढ्यो विद्युतीय सवारी आयात, भदौमा मात्रै ७८८ वटा इभि नेपाल भित्रीए



काठमाडौं । विद्युतीय सवारी (कार, जीप र भ्यान) आयात एक महिनामा आठ गुणाले बढेको छ । गत भदौ महिनामा मात्रै झण्डै ८०० वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार चालु आवको दुई महिनामा ८९८ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । यद्यपि, भदौ महिनामा मात्रै ७८८ वटा गाडी आयात गरिएको छ । तर, गत साउनमा भने ११० वटा मात्रै इभि गाडी नेपाल आएका थिए ।

भदौ महिनासम्ममा २ अर्ब ४३ करोड १५ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी नेपालले आयात गरेको हो । सो अवधिमा चीन, भारत, जर्मनी र इन्डोनेशियाबाट इभि गाडी नेपाल आएका छन् ।

ती मुलुकहरुबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात भएका हो । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् । नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ ।

नेपाल अटो बजारमा पनि विस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधानका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । सरकारले चालु आव २०८०/८१ को बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने उल्लेख गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको संख्या वृद्धिमा थप योगदान गरेको छ ।

गत भदौ २६ गते ३१ गते (६ दिनसम्म) नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डमा ‘नाडा अटो शो २०२३’ संचालन गरेको थियो । उक्त शोमा पनि विद्युतीय सवारीकै चहलपहल र आर्कषण बढी थियो। विशेषगरि नाडा अटो लक्षित गरेर व्यापारीले विद्युतीय सवारी आयात गरेका हुन् । जसले भदौमा इभिको आयात बढी देखिन्छ । नजिकिएको चाडपर्व र नाडा अटो शोले गर्दा नै भदौमा इभि आयात बढेको हो । त्यसभन्दा अघिल्लो महिनामा अर्थात् साउनमा ३४ करोड ६१ लाख रुपैयाँ बराबरकोको मात्रै ११० वटा इभि नेपाल भित्रिएका थिए ।

समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट विद्युतीय सवारी आयात भएका छन् । चीनबाट ५७५ वटा विभिन्न तौल क्षमताका इभि नेपाल भित्रिएका हुन् । यस्तै, भारतबाट ३१७ वटा इभि आयात भएको विभागले जनाएको छ । यता, इन्डोनेशियाबाट ४ वटा, जर्मनीबाट २ वटा इभि आयात भएको छ । भदौसम्ममा इभि आयातबाट सरकारले १ अर्ब १२ करोड ६० लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्