बीवाईडीको आधिकारिक विक्रेतामा ठूला घरानाको नजर, झगडा गरेर ल्याएको ‘अधिकार’ जोगाउन यमुनालाई हम्मे « Arthapath.com
२३ पुष २०८०, सोमबार

बीवाईडीको आधिकारिक विक्रेतामा ठूला घरानाको नजर, झगडा गरेर ल्याएको ‘अधिकार’ जोगाउन यमुनालाई हम्मे



काठमाडौं । बीवाईडी गाडीको आधिकारिक विक्रेता खोस्ने होडमा ठूला कर्पोरेट घरानाहरु देखिन थालेका छन् । अन्तरराष्ट्रिय बजारमा यस कारको लोकप्रियता बढेसँगै पछिल्लो समय नेपाली बजारमा पनि उक्त ब्राण्डप्रति धेरैको ध्यान तानिएको छ । अहिले विद्युतीय गाडीको बजारमा टाटा, एमजी र बीवाईडी अधिक मात्रामा विक्री भइरहेका छन् ।

अहिले बीवाईडीको गाडी साइमेक्स इन्क प्रालिले नेपाल भित्र्याएर विक्री गरिरहेको छ । यसको प्रबन्ध निर्देशक यमुना श्रेष्ठ छिन् । उनी कुनै ठूलो ब्यापारिक घरानाकी सदस्य होइनन् । काभ्रेपलान्चोकको दाप्चामा जन्मिएर गाउँकै श्रीकृष्ण माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी उनी एक मध्येमवर्गीय परिवारकी सन्तान हुन् ।

उनी आफैंमा पनि स्थापित ब्यापारी थिइनन् । केही वर्ष अघिसम्म सरकारी कार्यालयमा स्टेशनरी सामान आपूर्ति गर्ने सूर्य गुड्स प्रालि चलाएकी एक महिलाले आज देशको अटोमोबाइल क्षेत्रमा नेतृत्व गरिरहेकी छिन् ।

हाम्रो देशमा कुनै चलेको ब्राण्डको वस्तु आपूर्ति गर्ने अधिकार (आधिकारिक विक्रेता) खोसाखोस गर्ने प्रबृत्ती पुरानै हो । सामान्य उपभोग्य वस्तुदेखि महँगा गाडीसम्म आयात गर्ने आधिकारिकता विभिन्न ब्यापारीबीच खोसाखोस भइरहेको छ । यही सिलसिलामा अहिले केही ठूला व्यापारिक घरानाको ध्यान बीवाईडीले तानेको स्रोतको दाबी छ ।

अर्थपथलाई प्राप्त जानकारी अनुसार नेपालको एकमात्र डलर अर्बपति भनिएका विनोद चौधरीको कम्पनी सीजी मोटर्सले उक्त ब्राण्ड खोस्न सर्वाधिक मिहेनत गरिरहेको छ । ‘अरु पनि यो ब्राण्ड हत्याउन प्रयासरत छन्, सीजीले अलि बढी नै प्रयास गरेको देखिन्छ’, स्रोतले भन्यो ।

चौधरी ग्रुप पनि अहिले विद्युतीय गाडीको आयातमा निकै मिहेनतका साथ काम गरिरहेको छ । स्वदेशमा लगानी र पोर्टफोलियो बढाउने प्रयासमा देखिएको यो घरानाले भविष्यको संभावनाका रुपमा हेरिएको विद्युतीय गाडीको ब्यापारलाई जोड दिनु स्वाभाविक नै हो ।

त्यसैले निर्वाण चौधरीले हेर्दै आएको यो कम्पनी अहिले चिनियाँ विद्युतीय गाडीको ठूलो हिस्सा आफ्नो पोल्टामा पार्न प्रयासरत छ । सीजी मोटर्स गत असोजमा मात्रै क्वाङ्चौ अटोमोबाइल कर्पोरेशन (जीएसी) को नेपालका लागि आधिकारिक विक्रेता छनोट भएको थियो ।

त्यसअघि सीजी मोटर्सले स्मार्ट ब्राण्डको इभी नेपालको बजारमा भित्र्याउने सम्झौता गरेको थियो । त्योभन्दा पहिले नै यस घरानासँग चीनकै होजन निटा, केवाईसी र किङलङका सवारीसाधन नेपाली बाजरमा आयात गर्ने र विक्री गर्ने अनुमति छँदै छ ।

तर स्वदेशी बजारमा निटाबाहेक चौधरी समूहले भित्र्याएका अन्य गाडीको विक्री बढ्न सकेको छैन । पछिल्लो समय निटाको बजार पनि बीवाईडीले ‘पुनःस्थापित गरिदिएको’ चौधरी परिवारको बुझाइ हुनसक्ने सम्बद्धहरु बताउँछन् । त्यसैले सीजीले बीवाईडीको आधिकारिक विक्रेताको अधिकार प्राप्त गर्न अरुभन्दा बढी मिहेनत गरेको स्रोतको दाबी छ ।

नेपालमा सर्वाधिक इभी विक्री गरिरहेको भारतीय ब्राण्ड टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ हो । सिद्धार्थशम्शेर राणाको यो कम्पनीबाट टाटाको विक्रेता लाइसेन्स खोस्न तत्काललाई सम्भव नरहेको अटोमोबाइल्स विक्रेताहरु बताउँछन् । चिनियाँ ब्राण्ड एमजीको विक्रेता पारामाउण्ट मोटर्स हो, यो मुरारका घरानाको कम्पनी हो । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाको परिवारको व्यवसाय भएकाले अधिकतर ठूला ब्यापारिक घरानाहरु यो परिवारसँग जोरि खोज्न तयार छैनन् ।

किनकी, पशुपति अहिले पनि महासंघभित्रको एसोसिएट सदस्यहरुमा ठूलै दबदबा राख्छन् । हालैमात्र उद्योगहरुको विद्युत् कटौतिमा नेपाल विद्युत् प्राधिकरण विरुद्ध ‘जनमत’ तयार पार्न उनले नै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । त्यस कारण लामो व्यवासायिक इतिहास नभएको एक नवउद्यमी श्रेष्ठको व्यापारमा धेरैको नजर परेको बुझिएको छ ।

त्यसो त, बीवाईडीको आधिकारिक विक्रेताबारे पुरानै मुद्दा अदालतमा विचाराधिन रहेको तथ्यहरु पनि हालैमात्र बाहिर आएका छन् । उक्त विबादको निरुपण कसरी हुन्छ भन्ने कुराले समेत श्रेष्ठको हातमा बीवाईडीको ‘विजनेश’ टिकिरहला वा उनका यस अघिका व्यवसायमा जस्तै ‘नमीठो’ अनुभव सहनु पर्ला भन्ने तय हुनसक्छ ।


प्रतिक्रिया दिनुहोस्