अटो क्षेत्रलाई भाइब्रेन्ट बनाउने नाइमा एक्स्पो: ५० ब्रान्डका ३५ नयाँ मोडल, २ हजार बढी बुकिङ, ५ सोल्ड आउट ! « Arthapath.com
६ असार २०८३, शनिबार

अटो क्षेत्रलाई भाइब्रेन्ट बनाउने नाइमा एक्स्पो: ५० ब्रान्डका ३५ नयाँ मोडल, २ हजार बढी बुकिङ, ५ सोल्ड आउट !



काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ ले नेपालका अटोमोबाइल उद्योगमा नयाँ उर्जा भरेको छ ।

लगातर ६ दिनसम्म चलेको यस एक्स्पोले सुस्त चलिरहेको अटोमोबाइल क्षेत्रलाई भाइब्रेन्ट (जोशिलो) बनाएको छ ।

गत साउन २१ देखि २६ सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भएको एक्स्पोमा ५० ब्रान्ड सहभागी थिए । ती ब्रान्डहरूले ३५ नयाँ मोडलका सवारी साधन सार्वजनिक गरेका थिए ।

एक्स्पोमा १ लाख बढी दर्शकले अवलोकन गरेका छन् । आयोजका अनुसार २ हजार भन्दा बढी सवारी साधन बुकिङ भएका छन् । एक्स्पोले अटोमोबाइल बजारमा एक नयाँ र जोशिलो वातावरण सिर्जना गरेको नाइमाको अध्यक्ष ऋतुसिंह वैद्यले बताइन् ।

एक्स्पोले नेपाली उपभोक्ताहरूलाई नयाँ मोडल, विद्युतीय सवारी साधन, प्रभावकारी छुट अफर र आकर्षक बुकिङ योजनाहरू प्रस्तुत गरेर उनीहरूको उत्साह र विश्वास पुनर्जीवित गरेको छ । ५ मोडल सोल्ड आउट भएको र २० लाख रुपैयाँसम्म नगद छुटको अफरले बिक्रीमा उल्लेखनीय वृद्धि गरेको आयोजकको दावी छ ।

एक्स्पोमा विद्युतीय सवारी साधनको विशेष आकर्षण रहेको थियो । विभिन्न ब्रान्डहरूले विद्युतीय गाडीहरूको नयाँ युग प्रस्तुत गरे, जसले नेपालमा हरित प्रविधिको भविष्यका लागि पनि एक नयाँ दिशा दिने संकेत दिएको छ । यससँगै पर्यावरणमैत्री गाडीहरूको मागले थप गति पाएको छ ।

नाइमाको अध्यक्ष ऋतुसिंह वैद्यले भनिन्,‘यो एक्स्पोले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ जोश र उत्साह ल्याएको छ। हामीले पहिलो प्रयासमै एक लाखभन्दा बढी मानिसलाई आकर्षित गर्न सफल भएका छौँ, जसले हाम्रो क्षेत्रको भविष्य उज्जवल बनाउने छ ।’

नाइमा एक्स्पोले अटोमोबाइल उद्योगमा नवप्रवृत्तिहरू र नयाँ युगको शुरुवात गरेको छ । आगामी दिनमा अझ राम्रो अवसरहरूको ढोका समेत खोलेको छ ।

नयाँ सवारी मोडेलहरू, आकर्षक अफरहरू र विद्युतीय गाडीहरूको भविष्यको प्रस्तुति सबै मिलेर नेपालको अटोमोबाइल क्षेत्रलाई एउटा नयाँ दिशा दिन सक्षम भएको छ । एक्स्पोले सस्तो र प्रभावकारी गाडीहरूको खोजी गर्ने नेपाली उपभोक्ताहरूलाई आकर्षित गर्दै बजारमा नयाँ जोश थपेको छ ।


प्रतिक्रिया दिनुहोस्