बुटवलमा फोटोनको अत्याधुनिक थ्रीएस शोरुम सञ्चालनमा
काठमाडौंं। एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिले बुटवलको मणिग्राममा फोटोनको नयाँ (थ्रीएस) सेल्स, सर्भिस र स्पेयर पार्ट्स शोरुम सञ्चालनमा ल्याएको छ।
असार १५ गते आयोजित उद्घाटन समारोहमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरस ले संयुक्त रूपमा रिबन काटेर शोरुम उद्घाटन गरेका हुन्।
नयाँ शोरुममार्फत ग्राहकले एउटै स्थानबाट फोटोनका सवारीसाधन खरिद, मर्मत सेवा तथा जेन्युइन स्पेयर पार्ट्स प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यससँगै ग्राहकले बिक्रीपछिको सेवाका लागि अन्य शहर धाउनुपर्ने आवश्यकता कम हुने विश्वास कम्पनीको छ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बरालले बुटवल शोरुम कम्पनीको व्यापार विस्तार मात्र नभई देशभर दीर्घकालीन सेवा सञ्जाल विस्तार गर्ने रणनीतिक योजनाको हिस्सा भएको बताए। उनले ग्राहकलाई प्रत्येक चरणमा गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याए।
कम्पनीका अनुसार नयाँ शोरुम सञ्चालनसँगै ग्राहकको आवश्यकता नजिकबाट सम्बोधन गर्दै देशभर सेवा पहुँच र विश्वसनीयता थप सुदृढ बनाइनेछ।
एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स नेपालमा फोटोनका व्यावसायिक सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनीले देशभर विस्तार हुँदै गएको शोरुम तथा सेवा केन्द्रमार्फत व्यावसायिक सवारीसाधनसँगै अन्तर्राष्ट्रियस्तरको बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।













