नयाँ डिजाइन र फिचर्ससहित आउँदै टोयोटा हाइलक्स, नेपाल र भारतमा कहिले होला सार्वजनिक?
वैश्विक बजारमा विद्युतीय संस्करण सार्वजनिक भए पनि दक्षिण एसियाली बजारलाई लक्षित गर्दै टोयोटाले आफ्नो लोकप्रिय पिकअप ट्रक हाइलक्सलाई थप आधुनिक फिचर्स र पुरानै शक्तिशाली डिजेल इन्जिनमा बजारमा उतार्ने भएको छ।
काठमाडौँ । जापानी गाडी निर्माता कम्पनी टोयोटाको लोकप्रिय पिकअप ट्रक हाइलक्सको नयाँ पुस्ता (नेक्स्ट-जेनेरेसन) सन् २०२५ को अन्त्यतिर विश्व बजारमा पहिलोपटक सार्वजनिक गरिएको थियो।
पूर्ण रूपमा नयाँ डिजाइन, प्रिमियम र थुप्रै आधुनिक सुविधायुक्त भित्री बनावट (इन्टेरियर) सँगै यो गाडी पूर्ण विद्युतीय संस्करणमा पनि उपलब्ध गराइएको थियो।
प्रसिद्ध अटोमोबाइल पत्रिका अटोकारका अनुसार नयाँ २०२६ मोडलको टोयोटा हाइलक्स आगामी जुलाई महिनामा छिमेकी मुलुक भारतमा बिक्रीका लागि खुला गरिँदै छ।
विश्व बजारमा उपलब्ध गराइएको हाइलक्स इभी अर्थात् विद्युतीय संस्करणलाई आईएमभी ‘बडी-अन-फ्रेम’ प्लेटफर्ममा निर्माण गरिएको छ। यसमा ५९.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ।
गाडीको अगाडि र पछाडि रहेका मोटर्सले क्रमशः २०५ न्यूटन मिटर र २६८.६ न्यूटन मिटर टर्क पैदा गर्छन्। यो विद्युतीय पिकअपले एकपटकको पूर्ण चार्जमा २४० किलोमिटरभन्दा बढीको रेन्ज दिने प्रमाणित भइसकेको छ।
डिजेल इन्जिनकै निरन्तरता ?
वैश्विक बजारमा विद्युतीय संस्करणले चर्चा पाए पनि भारतीय बजारमा आउने गाडीमा भने कम्पनीले साविककै २.८ लिटरको जीडी-सिरिज टर्बो डिजेल इन्जिनलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ। यो गाडी ६-स्पिड म्यानुअल वा ६-स्पिड अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध हुनेछ।
यसको डिजेल इन्जिनले अधिकतम २०४ पीएस पावर र म्यानुअलमा ४२० न्यूटन मिटर तथा अटोमेटिकमा ५०० न्यूटन मिटर टर्क उत्पन्न गर्छ।
यो पिकअप ट्रकमा पार्ट-टाइम फोर-ह्विल ड्राइभ (४डब्ल्यूडी) प्रणालीलाई नै निरन्तरता दिइनेछ। यसबाहेक, टोयोटाले हालै आफ्नो प्रिमियम गाडी फर्च्युनरमा जस्तै नयाँ हाइलक्स डिजेलमा पनि ४८ भोल्टको ‘नियो ड्राइभ’ माइल्ड हाइब्रिड प्रणाली समावेश गर्न सक्ने सम्भावना रहेको छ।
अत्याधुनिक प्रविधि
नयाँ २०२६ टोयोटा हाइलक्सको भित्री प्रविधि र बनावट हाल बजारमा उपलब्ध संस्करणभन्दा निकै विलासी र सुविधायुक्त बनाइएको छ। यसको मुख्य आकर्षण भनेकै नयाँ डिजाइन गरिएको ड्यासबोर्डमा जोडिएको दुईवटा १२.३ इन्चको डिस्प्ले सेटअप हो।
यसका साथै पिकअप ट्रकमा नयाँ थ्री-स्पोक स्टेरिङ ह्विल, वायरलेस चार्जिङ प्याड, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, र पावर सुविधायुक्त एवं हावा ओहोरदोहोर हुने भेन्टिलेटेड अगाडिका सिटहरू राखिएका छन्।
गाडीलाई सुरक्षित र आधुनिक बनाउन कनेक्टेड कार प्रविधि, ब्लाइन्ड स्पट मोनिटर, ओभर-द-एयर (ओटीए) अपडेट, ३६०-डिग्री क्यामेरा र एडास (एडीएएस) जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू दिइएको छ।
आकर्षक र आधुनिक डिजाइन
नयाँ टोयोटा हाइलक्स २०२६ पहिलेको तुलनामा निकै परिष्कृत र आधुनिक देखिन्छ। गाडीको अगाडिको भागमा स्पोर्टी बम्पर, हनिकम्ब (माहुरीको घार जस्तो) प्याटर्न भएको ग्रिल र कालो ट्रिमले जोडिएका पातला एलइडी हेडल्याम्पहरू रहेका छन्।
यसका अलावा गाडीमा १७ इन्चको एलोय ह्विल, ह्विल आर्चेस र पछाडिको बम्परमा ठुलो क्ल्याडिङ प्रयोग गरिएको छ।
गाडीको पछाडि हाइलक्स ब्रान्डिङसहितको कालो बुट ह्यान्डल, टेलगेटमा ठुलो अक्षरमा लेखिएको टोयोटा नाम र सी-आकारको डिआरएल सिग्नेचरसहितका ठूला एलइडी टेलल्याम्पहरूले यसलाई थप आकर्षक र बलियो लुक्स दिएका छन्।













