फेरि सुरु भयो ब्याजदर बढाउने होड, बचतपछि अब मुद्दति दातामा पनि ब्याजदर बृद्धि « Arthapath.com
८ असार २०७८, मंगलवार

फेरि सुरु भयो ब्याजदर बढाउने होड, बचतपछि अब मुद्दति दातामा पनि ब्याजदर बृद्धि



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुन थालेपछि बैंकहरु अब ब्याजदर बढाउने होडमा पुनः उत्रन थालेका छन् । मुलुकको अर्थतन्त्र कोरोना महामारीको चक्रब्यूहबाट निस्कन नपाउँदै ब्याजदर बढ्न थालेको हो । पछिल्लो पटक एनएमबी बैंकले वार्षिक ८.३० प्रतिशत ब्याज दिनेगरी मुद्दति निक्षेपको घोषणा गरेको छ ।

यसअघि ५ वर्षे मुद्दति निक्षेपमा ७ प्रतिशतभन्दा बढी ब्याज नदिने एनएमबीले एकैपटक १.३० प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । यसअघि बैंकरहरुले बचत खाताको ब्याजदर बढाएका थिए । गत असार १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले बचत खातामा ०.५ देखि १ प्रतिशतविन्दुले ब्याजदर बढाएका छन् ।

यसपछि बाणिज्य बैंकहरुले बचत खातामा दिने ब्याजदर बैंक अनुसार २ देखि ५.६० प्रतिशतसम्म ब्याज दिएका छन् । बचत खातामा पनि सर्वाधिक ब्याज दिनेमा एनएमबी नै देखिएको छ । यसले तीन वर्षअघि एनआईसी एसियाले सुरु गरेको ब्याजदर युद्धमार्फत् आक्रामक व्यवसाय विस्तार गर्ने योजनामा अब एनएमबी अघि सरेको देखिएको छ ।

प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत दिनेश थकालीले पनि पछिल्लो समय ब्याजदर बढाएको बताए । उनले आसर १ गतेदेखि लागू हुने गरी बचत खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले बढाइएको बताए । उनले अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतबाट उकालो नलागे पनि निक्षेपको ब्याजदर बढ्न थालेको बताए । सरकारले चालू आर्थिक वर्षमा अपेक्षा गरेअनुसार बजेट खर्च नगर्ने देखिएपछि बैंकहरु ब्याजदर बढाएर निक्षेप तान्न थालेको उनले बताए ।

पछिल्लो समय बैंकहरुसँग ऋण दिने पैसा लगभग रित्तिएको छ । अब उनीहरुले आफ्नो तरलता सुविधाको लाभ उठाउँदै राष्ट्र बैंकसँग पैसा लिएरमात्रै ऋण दिने अवस्था बाँकी रहेको बैंकर बताउँछन् । ‘हामीसँग अझै डेढ खर्ब ऋण दिने क्षमता छ’, केही दिनअघि नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भनेका थिए, ‘तर बैंकसँगै यति पैसा भउर होइन, राष्ट्र बैंकसँग लिएर दिन सकिन्छ ।’

नेपाल राष्ट्र बैंकका अनुसम्धान विभाग प्रमुख डा प्रकाश श्रेष्ठले पनि ‘वित्तीय प्रणालीमा तरलताको अवस्था पहिलेजस्तो खुकुलो नरहेको’ बताए । फलस्वरुप पहिलो चरणमा निक्षेपको ब्याजदर बढाउन थालिएको हो । अहिले आर्थिक वर्षको अन्तिम महिना भएकाले केही बैंकले भने तत्कालै ब्याजदर बढाउँदा जोखिम हुने आँकलन गरेका छन् । तर धेरै बैंक महामारीपछि बढ्नसक्ने उच्च कर्जा मागलाई थेग्न अहिलेदेखि नै निक्षेप तान्न थालेका हुन् ।

यसअघि अनियन्त्रित ढंगले निक्षेपको ब्याजदर बढाइएको भन्दै पटक पटक बैंकरहरुले मिलेमतोमा ब्याजदर बृद्धिमा छेकबार लगाएका थिए । बैंकहरुले भद्र सहमित भन्दै ब्याजदर धेरै नबढाउने भनेपछि यसको विरोध पनि भएको थियो । यद्यपि राष्ट्र बैंक र अर्थ मन्त्रालयले वित्तीय स्थायित्वका लागि भन्दै यस्तो सहमतिको स्वीकार गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्