मेगा बैंकको लोभ लाग्दो प्रगति, अधिकांश सूचक बढ्दा नाफा २.३० अर्ब, वितरण योग्य नाफा ३५.८३ प्रतिशत बढ्यो
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४५.१६ प्रतिशत बढेर २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ र अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३८.९५ प्रतिशत बढेर ५ अर्ब ८० करोड ४६ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ४ अर्ब १७ करोड ७४ लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंककोे खुद फि तथा कमिशन आम्दानी २६.९० प्रतिशत बढेर ५९ करोड ८० लाख ८४ हजार रुपैयाँ, बैंकको सञ्चालन मुनाफा ४६.३० प्रतिशत बढेर ३ अर्ब २७ करोड ३ लाख १८ हजार रुपैयाँ, कूल सञ्चालन मुनाफा ३७.८५ प्रतिशत बढेर ७ अर्ब ८ करोड ४९ लाख ९७ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ३५.८३ प्रतिशत बढेर १ अर्ब ५१ करोड ५८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८० करोड ६४ लाख रुपैयाँबाट बढेर ८४ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
गत असारमसान्तसम्म बैंकको चुक्ता पूँजी ११.५४ प्रतिशत बढेर १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ, जगेडा कोष १५.९२ प्रतिशत बढेर ५ अर्ब ६४ करोड ८७ लाख ८६ हजार रुपैयाँ, निक्षेप ७.०४ प्रतिशत बढेर १ खर्ब ३६ अर्ब ८९ करोड ३५ लाख ८८ हजार रुपैयाँ र कर्जा २४.२८ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब ३१ करोड ८९ लाख ५ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६४ पैसा बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २३.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ११ पैसा रहेको छ ।