चार्टर्डपछि नबील, हिमालयन र सानिमा बैंक बढी किफायति, यसरी बढाए कर्जा
काठमाडौं । बैंकहरुले नयाँ ठाउँमा शाखा खोलिसकेपछि अवस्य पनि उसको व्यवसाय बढ्छ । धेरै ठूलो सञ्जाल भएको बैंकले बढी रकमको कारोबार गर्नु स्वभाविक नै हो । तर कम शाखा भएर पनि कारोबार बढाउने बैंक किफायति ठहरिन्छन् । यस्ता बैंक दीगो प्रतिफलमा तुलनात्मक रुपले बढी सक्षम मानिन्छन् ।
नयाँ ठाउँमा सञ्जाल फैलाएर ब्यापार बढाउनेभन्दा कम सञ्जालबाटै बढी ब्यापार गर्नु बैंकको कार्यदक्षता (इफिसियन्सी) पनि हो । यही कारण बैंकको प्रतिशाखा व्यवसाय विस्तारको आँकडालाई निकै महत्वका साथ हेरिन्छ । यसरी किफायति ढंगले व्यवसाय विस्तार गर्न सक्ने उत्कृष्ठ बैंकको सूचीमा सधैं झैं स्ट्याण्डर्ड चार्टर्ड अगाडी आउँछ ।
नेपालभर जम्मा १२ शाखा सञ्चालन गरिरहेको यो बाणिज्य बैंकले यहाँको बजारमा खुद्रा कारोबार गर्ने भन्दा पनि अन्तरराष्ट्रिय भुक्तानीको राफसाफ बैंककाका रुपमा काम गर्छ । यही कारण उसले भएका शाखा पनि घटाउँदै लगेको छ । स्थानीय बजारमा प्रतिस्पर्धी बैंकिङभन्दा पनि विशिष्टिकृत काममा बढी ध्यान दिने यो बैंकलाई उक्त सूचीमा पहिलो स्थानमै भए पनि धेरै चर्चा गर्नु जरुरी छैन ।
तर प्रतिस्पर्धी बैंकिङ सेवामा रहेका अन्य बै.कहरु भने यो तथ्यांकका लागि तुलनायोग्य छन् । गएको असार मसान्तसम्मको वित्तीय विवरण हेर्दा चार्टर्डपछि नबील बैंक सबैभन्दा ‘इफिसियण्ट’ देखिएको छ । नबीलले गत वर्ष प्रतिशाखा झण्डै ३९ करोड रुपैयाँ कर्जा बढाएको छ । त्यसपछि हिमालयन, सानिमा, एनआईसी एसिया र नेपाल इन्भेष्टमेण्ट बैंक छन् ।
यो रफ्तारमा सबैभन्दा पछिपरेको संस्था चाहीँ नेपाल एसबीआई बैंक हो । उसले वर्षभरीमा प्रतिशाखा कर्जा लगानी जम्मा ६ करोड ७७ लाखमात्रै बढाउन सक्यो । त्यसपछि कृषि विकास, सनराइज, नेपाल बंगलादेश, माछापुच्छ्रे, प्राइम, लक्ष्मी, कुमारी, मेगा र ग्लोबल आईएमई बैंकले प्रतिशाखा कर्जा बढाउनमा कमजोर प्रदर्शन गरे ।
यद्यपि, प्रतिशाखा कुल कर्जाका हिसाबमा भने चार्टर्डपछि हिमालयन दोस्रो स्थानमा छ । त्यसपछि नेपाल इन्भेष्टमेण्ट, नबील, सानिमा, एभरेस्ट, बैंक अफ काठमाडण्डू र नेपाल एसबीआईले पनि प्रतिशाखा व्यवसाय उल्लेख्य बढाएका छन् । कृषि विकास, सेञ्चुरी, सिटिजन्स, नेपाल बैंक र प्रभू भने शाखा अनुसार व्यापार बढाउनमा तुलनात्मक रुपले कमजोर देखिन्छन् ।
सबैभन्दा बढी कर्जा लगानी गर्ने बैंक एनआईसी एसिया पनि प्रतिशाखा लगानीको हिसाबमा २७ बैंकमध्ये १६ औं नम्बरमा पर्छ । यसो हुनुमा उसको सबैभन्दा ठूलो शाखा सञ्जाल भएर हो । गएको असार मसान्तसम्म एनआईसी एसियाको ३५३ वटा शाखा छन् । जबकी, बैंक अफ काठमाण्डू, सानिमा, नेपाल इन्भेष्टमेण्ट, हिमालयन र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कुल शाखा जोड्दा पनि ३४५ मात्रै हुन्छ ।
शाखा सञ्जालको हिसाबले एनआईसी एसियापछि ग्लोबल आईएमई, कृषि विकास, राष्ट्रिय बाणिज्य, प्रभू, नेपाल बैंक र कुमारी बैंक पनि ठूलो सञ्जालमा छन् । त्यसपछि कुमारी, प्राइम, सिद्धार्थ, सिटिजन्स, एनएमबी, मेगालगायतका बैंक रोलक्रममा पर्छन् ।