३ करोड ४ लाख जनसंख्या भएको मुलुकमा ३ करोड ६४ लाख बैंक खाता
काठमाडौं । केन्द्रिय तथ्यांक विभागका अनुसार आज शुक्रबार नेपालको जनसंख्या ३ करोड ४ लाख ३८ हजार पुगेको छ । तर राष्ट्र बैंकको तथ्यांकमा गएको जेठ मसान्तमै बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने निक्षेपकर्ताको संख्या ३ करोड ६३ लाख ६६ हजार पुगिसकेको थियो ।
राष्ट्र बैंकले शुक्रबार ‘नेपालमा वित्तीय पहूँचसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै यस्तो बताएको हो । देशभर सबै स्थान त परको कुरा, सबै स्थानीय तहमा पनि बैंकको पहूँच पुगिनसकेको अवस्थामा निक्षेप खाताको संख्या भने जनसंख्याको १२० प्रतिशत हाराहारी पुगेको छ ।
तर बैंकमा बुझाएको तीनपुस्ते विवरणका आधारमा एक जना व्यक्तिको एउटामात्रै खाता हिसाब गर्ने हो भने जनसंख्याको ६७.३४ प्रतिशत नागरिकको कम्तिमा एउटा बैंक खाता रहेको राष्ट्र बैंकले जनाएको छ । २०७६ असार मसान्तमा बैंक खाता हुने नेपालीको संख्या ६०.९ प्रतिशत थियो । यसरी पछिल्लो एक वर्षमा ७ प्रतिशत नागरिकले बैंकमा नयाँ खाता खोलेको देखिन्छ ।
मानिसहरु अहिले पनि बचत निक्षेपमा नै केन्द्रित छन् । बैंकहरुले मुद्दति निक्षेपमा बढी पैसा दिने भए पनि ढुक्कले लामो समय बैंकमा पैसा राख्न तयार हुने नागरिकको संख्या निकै कम छ । निक्षेप खातामध्ये ३.१ प्रतिशतमात्रै मुद्दति निक्षेपका खाता छन् भने ९०.६ प्रतिशत बचत निक्षेपको खाता छन् ।
तर ऋण लिनेहरुको संख्या भने निकै कम छ । हाल नेपालमा जम्मा १६ लाख ८२ हजार ८४५ कर्जा खाता रहेको राष्ट्र बैंकको तथ्यांक छ । यसमा पनि दर्जनौं ऋण खाताहरु एकै व्यक्तिको दायित्वमा पर्छन् । निक्षेप खाताको ४.६३ प्रतिशतमात्रै कर्जा खाता रहेको राष्ट्र बैंकको तथ्यांकले धेरै मानिसको खल्तिको पैसा सीमित मान्छेमाथि लगानी भइरहेको देखाउँछ ।