परिवर्तनीय र स्थिर दुबै ब्याजदर सार्वजनिक गर्नुपर्ने, सिडी रेसियो यथावत
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले परिवर्तनीय र स्थिर दुबै ब्याजदर सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुले आवधिक प्रकृतिको कर्जाको हकमा परिवर्तनीय ब्याजदरका साथै स्थिर ब्याजदर पनि प्रकाशन गर्नुपर्ने भएको हो । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आवधिक प्रकृतिको कर्जा स्थिर ब्याजदरमा समेत प्रदान गर्नुपर्ने व्यवस्था थियो ।
त्यस्तै, कर्जा निक्षेप अनुपात (सिडी रेसियो) को व्यवस्थालाई यथावथ राखेको छ । ‘बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात कर्जा–पूँजी–निक्षेप अनुपात–२०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने छ,’ मौद्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत ८५ प्रतिशतको सीसीडीको व्यवस्थालाई खारेज गरेर ९० प्रतिशतको सीडी रेसियोको व्यवस्था कायम गरेको थियो ।













