राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने « Arthapath.com
२० माघ २०७८, बिहीबार

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २१ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार ३६६ दिन अवधिका लागि उक्त रकम लगानी गर्नेछ । जसमध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ गरी कुल २१ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

बैंकले २०७८ फागुन ४ गतेदेखि २०७९ फागुन ४ गतेसम्मका लागि मुद्दती निक्षेप राख्ने जनाएको छ । उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी माघ २३ गतेसम्ममा बोलकबोल पेश गर्नु पर्ने छ ।

उक्त मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने छ । राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा भएको र राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ ।

त्यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्