प्राइम बैंकले चैत्र १६ गतेदेखि साढे २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने « Arthapath.com
८ चैत्र २०७८, मंगलवार

प्राइम बैंकले चैत्र १६ गतेदेखि साढे २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चैत्र १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकको उक्त ऋणपत्रको अवधि १० वर्ष रहने छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको हो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई छट्याईएको छ । बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकको उक्त ऋणपत्रमा छिटोमा चैत २१ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ३० गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्