वाणिज्य बैंकको चुक्ता पूँजी साढे ३ खर्ब नाघ्यो, ग्लोबललाई एडिबीएलले पछ्याउँदै, प्राइम २ र नबिल ४ स्थान उक्लियो « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

वाणिज्य बैंकको चुक्ता पूँजी साढे ३ खर्ब नाघ्यो, ग्लोबललाई एडिबीएलले पछ्याउँदै, प्राइम २ र नबिल ४ स्थान उक्लियो



काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०७८–७९ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा वाणिज्य बैंकहरूको चुक्ता पूँजी बढेको छ । यसपटक एनआईसी एशिया बैंकबाहेक सबै बैंकको चुक्ता पूँजी बढेको हो । 

समग्रमा वाणिज्य बैंकको चुक्ता पूँजी १३.६५ प्रतिशत बढेर ३ खर्ब ६२ अर्ब ९३ करोड ६ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको चुक्ता पूँजी ३ खर्ब १९ अर्ब ३४ करोड ९९ लाख ४ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा बैंकहरूको चुक्ता पूँजी ४३ अर्ब ५८ करोड रुपैयाँ बढेको हो । 

समिक्षा अवधिमा सबैभन्दा धेरै चुक्ता पूँजी ग्लोबल आइएमई बैंकको १० प्रतिशत बढेर २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको पूँजी २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ रहेको थियो । 

दोस्रोमा कृषि विकास बैंकको १९ अर्ब ७० करोड ७१ लाख ७० हजार रुपैयाँ, तेस्रोमा प्राइम कमर्सियल बैंकको १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ, चौथौमा नबिल बैंकको १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ, एनएमबी बैंकको १८ अर्ब ३६ करोड ६७ लाख ७ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा सबैभन्दा कम चुक्ता पूँजी सिभिल बैंकको ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ रहेको छ । यस अवधिमा प्रतिशतका आधारमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको ५१.७७ प्रतिशत बढेको छ । नबिल बैंकको ३७.२१ प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा आठौं स्थानमा रहेको नबिल बैंक समीक्षा अवधिमा भने चौथौ स्थानमा उक्लिएको छ । गत आर्थिक वर्षको यस अवधिमा प्राइम कमर्सियल बैंक पाँचौ स्थानमा रहेको थियो भने यस वर्ष २ स्थान उक्लिएर तेस्रो स्थानमा पुगेको छ । 

उता गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा स्ट्यान्डर्ड चार्टड बैंक अन्तिम स्थानमा रहेकोमा यस पटक भने एक स्थान माथि उक्लिएको छ । सिभिल बैंक भने तल झरेको हो ।


प्रतिक्रिया दिनुहोस्