प्रभु-सेञ्चुरी, कुमारी-लक्ष्मी, हिमालयन-सिभिल र नबिल-एनसीसी बैंकबीच होला त मर्जर ? « Arthapath.com
१३ असार २०७९, सोमबार

बैंकहरूलाई मर्जर चटारो

प्रभु-सेञ्चुरी, कुमारी-लक्ष्मी, हिमालयन-सिभिल र नबिल-एनसीसी बैंकबीच होला त मर्जर ?



काठमाडौं । अहिले किसानलाई असारे रोपाइँको चटारोझै वाणिज्य बैंकलाई पनि मर्जरको चटारो छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई असारभित्र एमओयु गरेकालाई मात्रै करछुट लगायतको सहुलियत दिने जनाएपछि बैंकहरूमा मर्जर हुइम नै सुरु भएको छ । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन राष्ट्र बैंकको दबावपछि बैंकहरू एक पछि अर्को गरेर मर्जर प्रक्रियामा सहभागी हुन थालेका हुन् । हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूमध्ये ६ वटा बैंक मर्जर प्रक्रियाका लागि एमओयु गरेका छन् ।
 
मर्जरमा जान नबिल–एनबी, नेपाल इन्भेष्टमेन्ट–मेगा र ग्लोबल आइएमई–बिओके बैंकबीच एमओयू सम्झौता भइसकेको छ । नबिल–एनबी बैंक मर्जरको अन्तिम चरणमा छन् भने अन्य बैंकले भने एमओयूमा मात्रै सम्झौता गरेका छन् ।
 
यिबाहेक अन्य बैंकहरू पनि मर्जरका लागि छलफल गरिरहेका छन् । ठूला बैंकहरू नै धमाधम मर्जरमा जान थालेपछि साना भनिएका बैंकहरूले पनि आफ्नो पार्टनर खोजिरहेका छन् । जसमध्ये प्रभु–सेञ्चुरी, कुमारी–लक्ष्मी, हिमालयन–सिभिल बैंकबीच मर्जरका लागि छलफल अगाडि बढाएका छन् । यता नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपश्चात् एनसीसी बैंकलाई गाभेर १ नंबर बैंक बन्ने दौडमा देखिन्छ । 

प्रभु-सेञ्चुरी बैंक

प्रभु बैंकले सेञ्चुरी बैंकमा आँखा लगाएको करिब ३ महिना भयो । सुरुमा स्वापमा कुरा नमिलेर हराएको चर्चा अहिले फेरी पनि छलफल सुरु भएको हो । पछिल्लो समय अन्य बैंकहरूले आफूमा मर्जर गर्ने बैंकको पछाडी सोही संस्थाको पनि नाम जोड्न थालेसँगै सेञ्चुरीले पनि आफ्नो नाम मेट्न चाहेको छैन् । पहिले राम्रो स्वापमा बार्गेनिङ गरेको सेञ्चुरीले अहिले नाम पनि मागेको छ । 

प्रभु बैंकको मर्जर प्रस्तावमा सेञ्चुरी बैंकले ९० सम्म स्वाप रेसियो कायम हुनुपर्ने माग गरेको छ । पटकपटक गरिएको प्रस्तावमा सेञ्चुरीले आफ्नो अडान कायमै राखेको छ । तर प्रभु बैंकले भने ८० प्रतिशतसम्मको स्वाप रेसियोमा मर्ज हुन आग्रह गरिरहेको छ । अन्तिममा ९० प्रतिशत स्वाप रेसियोमा मर्ज हुन सक्नेछ । यसअघि माछापुच्छ्रे बैंकसँग मर्जरका लागि छलफल गरेको सेन्चुरी बैंकले कुरा नमिलेपछि प्रभु बैंकसँग मर्जरको तयारी तीव्र पारेको हो ।

नबिल-एनसीसी बैंक

पछिल्लो समय नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि चालु आर्थिक वर्षभित्रै एकीकृत कारोबारको तयारीमा रहेको नबिल बैंकले अर्काे बैंक पनि मर्ज गर्ने भएको छ । ग्लोबल आइएमई बैंकले बिओकेसँग मर्जर गर्ने भएपछि आफुलाई नम्बर १ बैंकको ताज पाउनकै लागी भएपनि नबिल बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जर गर्ने छलफल शुरु भएको हो ।

हिमालयन-सिभिल बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया भाँडिएपछि हिमालयन बैंक आफ्नो मन मिल्ने पार्टनरको खोजिरहेको छ । यसअघि हिमालयनले नेपाल इन्भेष्टमेन्ट बैंकभन्दा पनि सिभिल मर्ज गर्न चाहेको थियो । ३ वर्ष अघिदेखी चलेको हिमालयन सिभिल लभले विवाहको रुप लिन सकेको छैन् ।  इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग एमओयु गरिसकेपछि हिमालयनलाई सबैभन्दा बढी मर्जर प्रेसर छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकलाई ७५ रुपैयाँमात्रै दिन सकिने अनौपचारिक कुरा गरेको हिमालयनलाई अहिले सिभिल बैंकले ९० रुपैयाँ मागेपछि झस्किएको छ । हिमालयनका सीईओ अशोक राणाको लामो अमेरिका बसाईका कारण रोकिएको मर्जरको कुरा हालै अघि बढेको बैंक स्रोतले जनाएको छ ।

लक्ष्मी-कुमारी बैंक

लक्ष्मी बैंक र कुमारी बैंकबीच पनि मर्जरका लागि छलफल भईरहेको छ । पछिल्लो समय लफडामा बसेको कुमारी बैंकलाई राष्ट्र बैंकले मर्जरमा जान सुझाएपछि लक्ष्मी र कुमारी बैंकबीच पनि मर्जरको लागि छलफल शुरु भएको हो । लक्ष्मी र कुमारी बैंकबीच सम्भवतः शतप्रतिशत स्वाप रेसियोमा मर्जरमा जान सक्ने गरी छलफल भईरहेको छ । तर लक्ष्मी बैंक पछिल्लो समय बलियो बैंक हो भने कुमारीको केही वित्तीय सूचकमा कमी आएकाले स्वाप केही कम हुनक्ने संबद्ध स्रोतको दावी छ । 


प्रतिक्रिया दिनुहोस्