प्रभुसंग मर्जर गर्न सेञ्चुरीको बोर्डमा जुट्यो बहुमत, निरौला माछापुच्छ्रेतिर ढल्कदाँ प्रधान र श्रेष्ठ मर्जरका विपक्षमा
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकविच ३ महिनादेखी चलेको मर्जर छलफल सार्थकता तर्फ अघि बढेको छ । प्रभु बैंकलाई नेपाल राष्ट्र बैंकले कुनै एक बैंक मर्ज गरेर संख्या घटाउने योजनामा सघाउन आग्रह गरेको थियो ।
सेञ्चुरी बैंकको संचालक समितिका प्रभु बैंकसंग मर्जरमा जान बहुमत जुटेको छ । नेको इन्स्योरेन्सको तर्फबाट संचालक बनेका रमेश निरौलाले माछापुच्छ्रे बैंकसंग मर्जर गर्नुपर्ने बताइरहँदा अन्य २ संचालक मर्जर गर्न नहुने पक्षमा देखिएका छन् ।
सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, मनबहादुर राई र अभिशेक बज्राचार्य प्रभु बैंकसंग मर्जरमा जानुपर्ने प्रश्ताव गरेका छन् । शुक्रबार मर्जरसंबन्धी संचालकहरको छलफलमा प्रभु बैंकसंगै मर्जर गर्न बहुमत जुटेको हो । सेञ्चुरी बैंकमा अहिले ६ जनामात्र संचालक रहेका छन् ।
यसअघि गत चैत्रमा पनि एउटा समुहले माछापुच्छ्रे बैंकसंग स्वाप रेस्योको बारेमा वार्गेनिङ गरेको थियो भने अर्को समुहले प्रभुसँग । चैत्रमा प्रभु बैंकले आफ्नो प्रति १०० कित्ता बराबर सेञ्चुरीको ८५ कित्ता हुनेगरी छलफल चलेकको थियो । उता माछापुच्छ्रेले ९० मा अक्वायर गर्न प्रश्ताव गरेपछि उतिबेला मर्जर प्रक्रिया रोकिएको थियो ।
अहिले फेरी संचालकहरुले प्रभुसंग ९५ स्वापमा मर्जर गर्न प्रश्ताव गरेको छ । सो प्रश्तावमा प्रभु बैंक सकारात्मक देखिएको छ । प्रभुसंग छलफलको अगुवाई मनबहादुर राईले गरेका थिए भने माछापुच्छ्रेसंगको छलफल अर्का संचालक रमेशकुमार निरौलाले गरेका थिए । गत चैत्रमै मर्जरको प्रश्तावबारे छलफल भएपनि सेञ्चुरीका संचालकको दोहोरो भुमिकाले एमओयू हुन सकेको थिएन ।
गत चैत्रमै २ बैंकविच मर्जरको चर्चा चलेपनि दुबै बैंकले आफ्नो छलफललाई निरन्तरता दिँदै आएका थिए । सबैभन्दा कान्छो बैंक सेञ्चुरीको चुक्ता पुँजी करिव साँढे ९ अर्व रहेको छ ।
















