नाफामा नबिलको अग्रता कायमैः ग्लोबल र एनआईसीबीच टक्कर, पच्छ्याउँदै एनआईएमबि र आरविवि « Arthapath.com
४ बैशाख २०८०, सोमबार

नाफामा नबिलको अग्रता कायमैः ग्लोबल र एनआईसीबीच टक्कर, पच्छ्याउँदै एनआईएमबि र आरविवि



काठमाडौं । संचालनमा रहेका वाणिज्य बैंकहरुले एक महिनामा थप साढे आठ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार फागुन महिनामा २१ वटा वाणिज्य बैंकहरुले ८ अर्ब ५७ करोड ६८ लाख ९० हजार रुपैयाँ खुद नाफा बढाएका हुन् । चालु आवको फागुन मसान्तसम्ममा बैंकहरुको कुल ४८ अर्ब ८२ करोड ८५ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन गत माघ मसान्तसम्मको तुलनामा २१.३० प्रतिशतले बढी हो । माघ मसान्तसम्ममा बैंकहरुले ४० अर्ब २५ करोड १६ लाख रुपैयाँ नाफा गरेका थिए ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा कमाउनेको पहिलो स्थानमा नबिल बैंक देखिएको छ । यस्तै, ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकबीच कडा प्रतिस्पर्धा देखिएको छ । नाफा बढाउन नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच कडा टक्कर देखिएको छ । सो अवधिमा कृषि विकास बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ ।

नबिलको अग्रता कायमै, एक महिनामा २८.८७ प्रतिशतले बढायो नाफा

फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार धेरै नाफा कमाउनेको पहिलो स्थानमा नबिल बैंक नै देखिएको छ । नाफा लगायतको सूचकहरुमा बैंकले अग्रता लिएको छ । सो अवधिमा बैंकले ५ अर्ब ३२ करोड ६१ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत माघ मसान्तसम्मको तुलनामा भने २८.८७ प्रतिशतले बढी हो । एक महिनामा बैंकले १ अर्ब १९ करोड ३४ लाख रुपैयाँले नाफा बढाएको तथ्याङ्कमा उल्लेख छ । गत माघ मसान्तसम्ममा भने बैंकले ४ अर्ब १३ करोड २६ लाख ९० हजार रुपैयाँ नाफा गरेको थियो । बैंकको पुँजी कोषमा ५३ अर्ब ८७ करोड ६२ लाख ७० हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी भने २७ अर्ब ५ करोड ७० लाख रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई र एनआईसीबीच नाफामा कडा टक्कर

राष्ट्र बैंकको तथ्याङ्क अनुसार ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

गत माघ मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेको दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंक फागुनमा भने तेस्रो पोजिशन पुगेको छ । फागुनम ग्लोबल आइएमई उछिनेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको आठ महिनामा ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड २३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत माघको तुलनामा २३.०४ प्रतिशतले बढी हो । गत माघमा बैंकले ३ अर्ब ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, सो अवधिमा एनआईसी एशियाको नाफा भने १०.३० प्रतिशत सुधार भएको छ । गत माघ मसान्तसम्ममा ३ अर्ब ६७ करोड ८९ लाख ८० हजार रुपैयाँ नाफा गरेको बैंकले फागुन मसान्तसम्म आईपुग्दा ३७ करोड ९० लाख रुपैयाँले नाफा बढाएको हो । योसंगै चालु आवको आठ महिनामा बैंकको कुल नाफा ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ कायम भएको छ ।

आरविविलाई एनआईएमबिले उछिन्यो, पच्छ्याउँदै एनएमबि

चालु आवको आठ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको चौंथो नम्वरमा प्रवेश गरेको छ । गत माघ महिनासम्म छैठौं स्थानमा रहेको बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई उछिनेर अघि बढेको हो । सो अवधिमा एनआईएमबिले कुल ३ अर्ब ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत माघ महिनासम्मको तुलनामा २९.१६ प्रतिशतले बढी हो । गत माघमा बैंकले २ अर्ब ७० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस्तै, फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकले ९.८४ प्रतिशतले नाफा वृद्धि गरेको छ । सो महिनासम्म बैंकको कुल नाफा ३ अर्ब ३६ करोड ८७ लाख रुपैयाँ पुगेको छ । तर, माघ मासन्तसम्ममा भने बैंकले ३ अर्ब ६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो ।

कृषि विकास बैंकको नाफा उल्लेख्य सुधार, एक महिनामै ३०८ प्रतिशतले बढायो

चालु आवको दोस्रो त्रैमास अर्थात गत पुस मसान्तसम्म नोक्सानीमा रहेको कृषि विकास बैंकले पनि पछिल्लो समय नाफामा सुधार गरेको छ ।

बैंकले एक महिनामा ३०८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो । बैंकले चालु आवको आठ महिनामा ४१ करोड १२ लाख ९० हजार रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत माघ महिनाको तुलनामा भने ३१ करोड ६ लाख ७० हजार रुपैयाँले बढी हो ।

गत पुस मसान्तसम्ममा बैंक १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । माघ महिनामा मात्रै बैंकले २२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएर सुधार गर्न सफल भएको थियो ।

अन्य कुन बैंकको नाफा कति ?


प्रतिक्रिया दिनुहोस्