प्रभु बैंकले ल्यायो लक्जेम्वर्गको ५० लाख डलर वैदेशिक ऋण, कहाँ गर्दैछ लगानी ? « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

प्रभु बैंकले ल्यायो लक्जेम्वर्गको ५० लाख डलर वैदेशिक ऋण, कहाँ गर्दैछ लगानी ?



काठमाडौं । प्रभु बैंकले विदेशबाट ५० लाख डलर अर्थात् ६६ करोड २७ लाख ऋण ल्याएको छ । बैंकले लक्जेम्बर्गको एमएसमई इन्टरप्राइजेज बन्ड एसएबाट उक्त ऋण सुविधा प्राप्त गरेको हो ।

४ वर्ष अवधिका लागि ल्याइएको उक्त ऋणको नेपाली मूल्य ६६ करोड २७ लाख रुपैयाँ रहेको छ । बैंकले यो ऋण प्राप्त गरेसँगै विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

बिशेषगरि बैंकले हरित क्षेत्रमा लगानी गर्ने गरी यो ऋण ल्याएको हो । विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न यो ऋण ल्याइएको बैंकका सीईओ अशोक शेरचनले बताए । 

बैंकलाई प्राप्त उक्त रकम विद्युतीय सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज रूपमा उपलब्ध कर्जा गराइने बैंकले जनाएको छ । जलवायु परिवर्तनले आक्रान्त विश्व यसको प्रभावबाट मुक्ति पाउन प्रयासरत छ ।

साथै बैंकले वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्यका लागि पहल गरिरहेको छ । यसका साथै निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने बैंकका सीईओ शेरचनले बताए । 


प्रतिक्रिया दिनुहोस्