कर्जाको माग बढ्न थालेको हो ? बैंकहरुको एकैदिन ८ अर्बले बढ्यो ऋण लगानी « Arthapath.com
१७ श्रावण २०८०, बुधबार

कर्जाको माग बढ्न थालेको हो ? बैंकहरुको एकैदिन ८ अर्बले बढ्यो ऋण लगानी



काठमाडौं । केही समय अगाडि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पछिल्लो समय बढेको छ । एकदिनमै बैंक तथा वित्तीय संस्थाले ८ अर्ब कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट उपलब्ध तथ्याङ्कले यस्तो देखाएको हो । साउन १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, त्यसको भोलिपल्ट नै थप ८ अर्ब रुपैयाँले बढेको हो । समिक्षा अवधिमा कुल कर्जा लगानी ४८ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्रै एकैदिन ८ अर्ब बराबरको कर्जा लगानी गरेका हुन् । हाल वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ९२ हजार रुपैयाँ पुगेको हो ।

चालु आव सुुरु भएपछि पनि कर्जाको माग बढ्न सकिरहेको थिएन । तर, अब कर्जाको माग अझै बढ्न सक्ने बैंकहरु बताउँछन् । बैंकहरुमा केही महिनाको कर्जा माग धान्ने पैसा थुप्रीएको छ । बैंकहरुले कर्जाको ब्याजदर घटाउँदै लगेका छन् । चार्डपर्व नजिकीदैं गर्दा आर्थिक गतिविधि बढ्दै गएको छ । त्यो अवस्थामा अबका दिनमा कर्जाको माग बढ्ने अपेक्षा रहेको बैंकरहरु बताउँछन् ।

बैंकिङ्ग प्रणालीमा निक्षेप भित्रने क्रम पनि जारी नै छ । समिक्षा अवधिमा अर्थात गत आइतबारसम्ममा बैंकिङ्ग प्रणालीमा २ अर्ब रुपैयाँ निक्षेप बढेको हो । बैंक तथा वित्तीय संस्थामा निक्षेप २ अर्बले बढेर ५६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले नै बढेर ४९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको हो ।

हाल बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात अन्तर सापटी ब्याजदर ५.८५ प्रतिशत रहेको छ । यस्तो ब्याजदरमा पनि बढ्ने घट्ने भईरहेको छ। केही दिनअघि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घट्दै गएको थियो । केही हप्तरलता सहज हुँदैगएपछि यस्तो ब्याजदर केही दिन १ प्रतिशतभन्दा तल नै झरेको थियो । तर, फेरि बढ्न थालेको तथ्याङ्कले देखाउँछ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८३.२८ प्रतिशत रहेको छ । बैंकहरु कर्जा प्रवाह गर्ने मामिलामा सहज अवस्थामा देखिन्छन् । बैंकहरुले सीडी रेसीयो ९० प्रतिशतसम्म कायम गर्ने गरि कर्जा प्रवाह गर्न पाउछन् ।


प्रतिक्रिया दिनुहोस्