‘बीग मर्जर’मा नगए पनि सिटिजन्सको हैसियत कयौं ठूला बैंकभन्दा राम्रो, कुन–कुन परे पछाडी ? « Arthapath.com
१५ भाद्र २०८०, शुक्रबार

‘बीग मर्जर’मा नगए पनि सिटिजन्सको हैसियत कयौं ठूला बैंकभन्दा राम्रो, कुन–कुन परे पछाडी ?



काठमाडौं । पछिल्लो समय ठूला बैंकहरु मर्जरमा जाने प्रबृत्ती बढेको छ । यसले बैंकहरुको वित्तीय आकारलाई निकै ठूलो बनाएको छ । फलस्वरुप कतिपय बैंकहरु लामो समयसम्म कर्मचारी व्यवस्थापनमा आन्तरिक कलहको शिकार बन्ने जोखिम पनि देखिएको धेरैको बुझाइ छ ।

तर कुनै ठूलो मर्जर नगरिकन पनि बैंकलाई एक नियमित रफ्तारमा चलाउन सकिन्छ भन्ने उदाहरण सिटिजन्स बैंकले दिएको छ । सिटिजन्स अहिले बैंकहरुको वित्तीय आकारका हिसाबले अन्तिमतिर नै बढी देखिन्छ । तर कतिपय सूचकले उसलाई ठूला भनिएका बैंकभन्दा अब्बल बनाएको छ ।

अरु धेरै संस्थाहरु मर्जरबाट आएका कारण उनीहरुको वित्तीय आकार यसै पनि ठूलो हुने नै भयो । अहिलेको अवस्थामा निक्षेप र कर्जा दुबै हिसाबले सिटिजन्स २० मध्ये १७ औं स्थानमा छ । स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई र माछापुच्छ्रे बैंकभन्दा बढी कर्जा तथा लगानी सिटिजन्सको छ । कुल सम्पत्तीमा पनि यिनै तीन बैंकभन्दा माथि छ सिटिजन्सको हैसियत ।

कुल पूँजीको गणना गर्ने हो भने स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई र माछापुच्छ्रेमात्रै होइन, सानिमा बैंक पनि सिटिजन्सभन्दा पछाडी पर्छ । कर्जा सुरक्षणमा सिटिजन्सको सबैभन्दा न्यून स्तरमा देखिएको भए पनि कुल कर्जाको तुलनामा कर्जा सुरक्षणको आँकडाले उसलाई सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकभन्दा माथिल्लो हैसियत दिएको छ ।

ब्याज आम्दानीको आँकडा हेर्ने हो भने स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई र माछापुच्छ्रेका साथै हालैमात्र सनराइज बैंक गाभेर बनेको लक्ष्मी सनराइजभन्दा पनि सिटिजन्सको हैसियत माथि देखिन्छ । यस हिसाबले सिटिजन्स देशकै १६ औं ठूलो बैंक हो ।

सिटिजन्स बैंक ग्राहकमैत्री पनि देखिएको छ । अचेल धेरै बैंकहरु ग्राहकलाई अनेक शुल्क लगाएर नाफा कमाउने होडमा लागेका छन् । यसले सामाजिक न्याय नगरेको भनेर कतिपय अवस्थामा आलोचना पनि हुने गरेको छ । तर राष्ट्रिय बाणिज्य बैंक र सानिमा बैंकजस्तै सिटिजन्सले पनि अत्यधिक कम शुल्कमा बैंकिङ सेवा दिइरहेका छन् । भलै यसले बैंकको नाफालाई प्रतिकुल प्रभाव पारेको होस् ।

खुद ब्यापार आम्दानीमा भने सिटिजन्सको ‘पर्फरमेन्स’ निकै राम्रो देखिएको छ । यस सूचकमा सिटिजन्सले राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकलाईमात्रै होइन, एनआईसी एसिया र प्राइमजस्ता निजि क्षेत्रका ठूला बैंकलाई पनि पछि पारेको छ । लगानीकर्तालाई बढी नाफा दिन सकियोस् भनेर पनि हुनसक्छ, सिटिजन्सको व्यवस्थापनले निकै किफयती हिसाबले बैंक चलाइरहेको छ । स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, सानिमा र लक्ष्मीपछि सबैभन्दा न्यून कर्मचारी खर्चमा बैंक चलाउने सिटिजन्स नै हो । अरु १५ वटा बैंकको सञ्चालन खर्च सिटिजन्सको तुलनामा निकै बढी छ ।

यति किफायति खर्चमा बैंक चलाउँदा पनि कर्मचारीलाई भने प्रोत्साहित नै गरेको देखिन्छ । कर्मचारी खर्चको तुलनामा बोनस दिने बैंकमध्ये सिटिजन्स १४ औं स्थानमा छ । कर्मचारी खर्चको २१ प्रतिशतभन्दा धेरै बोनस दिएको सिटिजन्स अहिले पनि प्रभू, कुमारी, नेपाल, माछापुच्छ्रे, एनआईसी एसिया र कृषि विकास बैंकलेभन्दा धेरै बोनस दिनेमा पर्छ ।

सानो आकारको कारोबार भए पनि कुमारी र माछापुच्छ्रेभन्दा धेरै नाफा सिटिजन्सले कमाएको छ । वितरणयोग्य मुनाफामा त सिटिजन्सको हैसियत निकै माथि छ । १ अर्बभन्दा धेरै वितरणयोग्य मुनाफा कमाउने १३ बैंकको सूचीमा सिटिजन्स पनि छ । यो भनेको नेपाल बैंक, सिद्धार्थ, प्राइम, प्रभू, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंकभन्दा धेरै हो ।

पूँजी पर्याप्ततालाई न्यूनतम नियामकीय विन्दुमा राखेर बैंकले उपलब्ध स्रोतको अधिकतम उपयोग गरेको छ । प्राइमपछि सबैभन्दा संकुचित पर्याप्तता अनुपातमा ब्यवसाय गर्ने बैंक सिटिजन्स नै हो । कतिपयले अधिक क्षमता भए पनि त्यसको उपयोग गर्न सकेका छै्रनन् भने सिटिजन्सले आफूलाई चुस्त र ‘भरिभराउ’ राख्ने कोसिस गरेको छ ।

निष्कृय कर्जा अनुपातमा बैंकको स्थान २० मध्ये १४ औ छ । केही बैंकले कृत्रिम रुपमा निष्कृय कर्जा घटाउने बदमासी गरेको भनेर आरोप लागिरहेका बेला सिटिजन्सले यथार्थपरक वित्तीय विवरण प्रकाशित गरेको देखिएको छ । उसले चैतको तुलनामा ७९ आधार विन्दुले निष्कृय कर्जा घटाएर ३.१९ प्रतिशतमा झारेको छ । यो भनेको कुमारी, हिमालयन, नेपाल इन्भेष्टमेण्ट मेगा, प्राइम, प्रभू र नबिल बैंकभन्दा पनि कम हो ।

कर्जा निक्षेप अनुपातमा पनि बैंकले आफूलाई ‘पर्फरमर’ कै रुपमा उभ्याएको छ । राष्ट्र बैंकले ९० प्रतिशतको सीमा दिए पनि सिटिजन्सले ८२.४ प्रतिशतमा सीडी रेसियो कायम राखेको छ । यही कारण हालैमात्र स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नपाउने हल्लाले केही बैंक असहजतामा फस्दा पनि सिटिजन्सलाई कुनै समस्या परेको छैन । तर प्राइम, नबिल, कुमारी, नेपाल इन्भेष्टमेण्ट मेगाजस्ता बैंक अहिले फन्दामा परेर निक्षेपको ब्याजदर बढाइरहन बाध्य भएका छन् ।

आधार दरका हिसाबले पनि कुमारी, हिमालयन, लक्ष्मी, माछापुच्छ्रे, नेपाल एसबीआई र प्राइमभन्दा सिटिजन्स बैंकको आकार दर न्यून रहेको छ । यसले ती सबै बैंकभन्दा सस्तो ब्याजमा ऋण दिनसक्ने हैसियत सिटिजन्ससँग छ ।

सिटिजन्सको सबैभन्दा बलियो पक्ष चाहीँ उसको प्रतिफल दर हो । अहिले २० मध्ये १४ बाणिज्य बैंकले दोहोरो अंकमा प्रतिफल निकालेका छन् । पूँजीमा प्रतिफल (रिटर्न अन इक्विटी) को गणना गर्ने हो भने सिटिजन्स ११ औं स्थानमा छ । उसले समग्र बाणिज्य बैंकको औसत प्रतिफल दरभन्दा धेरै ‘आरओई’ निकाल्न सफल भएको छ । यो भनेको, कुमारी, लक्ष्मी, नेपाल इन्भेष्टमेण्ट मेगा, प्राइम, प्रभू, कृषि विकास, राष्ट्रिय बाणिज्य, हिमालयन र नेपाल बैंकभन्दा पनि बढी प्रतिफल दर हो ।


प्रतिक्रिया दिनुहोस्