बैंकका एक्सटेन्सन काउन्टरबाट पनि अब विदेशी मुद्राको कारोबार हुने « Arthapath.com
२५ मंसिर २०८०, सोमबार

बैंकका एक्सटेन्सन काउन्टरबाट पनि अब विदेशी मुद्राको कारोबार हुने



काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एक्सटेन्सन काउन्टरले पनि विदेशी विनिमय कारोबारको सुविधा पाउने भएका छन् ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (दोस्रो संशोधन) ले गरेको नयाँ व्यवस्थाले उक्त सुविधा दिएको हो ।योसँगै बैंक तथा वित्तीय संस्थाका एक्सटेन्सन काउन्टरबाट पनि अब विदेशी मुद्राको कारोबार हुने भएको हो ।

तर, यसअघि भने बैंक तथा वित्तीय संस्थाको एकमुष्ट रुपमा प्राप्त गरेको इजाजत (लाइन्सेन्स) का आधारमा शाखाबाट मात्रै विदेशी विनिमयको कारोबार गर्न पाउने सुविधा थियो ।

विदेशी विनिमय कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले विनियमावली अनुसार लाइसेन्स पाउनेछन् । मनिचेन्जर कारोबार गर्न भने नेपाल राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ बमोजिम र विप्रेषण कारोबार गर्न नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ बमोजिम छुट्टै इजाजतपत्र लिनुपर्नेछ ।

विदेशी विनिमयको कारोबार गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रका लागि विदेशी विनिमय कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउन्टरको नाम, ठेगानासहित अनुसूची–१ बमोजिमको ढाँचामा अनुसूची–१ (क) बमोजिमका कागजातसहित विदेशी विनियम विभागमा निवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रिय स्तर बाहेकका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा लाइसेन्सका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

कारोबारको इजाजतपत्र प्राप्त गर्न विदेशी मुद्राको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले छुट्टाछुट्टै शुल्क राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।

केन्द्रिय बैंकका अनुसार बैंकले एकमुष्ट पाँच लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकले एकमुष्ट एक लाख रुपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरुले एकमुष्ट बीस हजार रुपैयाँ बुझाउने पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्