नेपालसँग झण्डै १७ खर्ब विदेशी मुद्रा सञ्चिती, राष्ट्र बैंकको ढुकुटीमा कति छ ? « Arthapath.com
२९ मंसिर २०८०, शुक्रबार

नेपालसँग झण्डै १७ खर्ब विदेशी मुद्रा सञ्चिती, राष्ट्र बैंकको ढुकुटीमा कति छ ?



काठमाडौं । नेपालसँग ११.३ महिनाको बस्तु तथा सेवा आयात धान्न पुग्ने गरि विदेशी मुद्रा जम्मा भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषयक कात्तिक महिनाको प्रतिवेदनले यस्तो देखाएको हो ।

कात्तिक महिनासम्म नेपालसँग झण्डै १७ खर्ब विदेशी मुद्रा सञ्चिती छ, त्यसले १३.६ महिनाको वस्तु मात्रै र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने प्रतिवेदनमा उल्लेख छ, जुन निकै सहज र राम्रो अवस्था भएको राष्ट्र बैंकको भनाइ छ ।

नेपालको मुद्राले विदेशी बजारमा कारोबारको मान्यता पाएको छैन । त्यसैले आयातमा भारतीय रुपैयाँ तथा अमेरिकी डलर जस्ता मुद्रा प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यस्तो मुद्रा नभए अत्यावश्यक सामान समेत आयात गर्न नसक्ने अवस्था आउछ । तसर्थ, आयातमा विदेशी मुद्राको महत्व छ ।

नेपालसँग गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी मुद्रा थियो । कात्तिकसम्म आउँदा त्यो १०.२ प्रतिशतले बढेर १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ । २०८० असार मसान्तमा यो ११ अर्ब ७१ करोड डलर थियो ।

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा १४ खर्ब ९० अर्ब ८३ करोड छ । बैंक तथा वित्तीय संस्थासँग भने २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।

केही समयअघि आयात बढ्दा विदेशी मुद्रा सञ्चिती ह्वात्तै घटेको थियो । तर, आयातमा गरिएको कडाईले अहिले विदेशी मुद्रा सञ्चिती बढेको छ । पर्यटन आम्दानी, रेमिट्यान्स बृद्धिले गर्दा पनि यस्तो सञ्चिती बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ । तर, अहिले विदेशी मुद्रा सञ्चिती धेरै नै भएको टिप्पणी पनि हुन थालेको छ । अब यसलाई यत्तीकै जम्मा गर्नु भन्दा पनि परिचालन गर्नुपर्ने विज्ञहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस्