बैंकका कर्मचारी नै विदेश पलायन हुन थालेपछि गभर्नरको गम्भीर चासो « Arthapath.com
७ पुष २०८०, शनिबार

बैंकका कर्मचारी नै विदेश पलायन हुन थालेपछि गभर्नरको गम्भीर चासो



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका कर्मचारीहरु देश छाडेर पलायन हुन थालेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । चितवनको भरतपुरमा शनिबार आयोजित नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो चिन्ता जनाएका हुन् ।

तुलनात्मक रुपमा राम्रो सेवा सुविधा पाउने र ‘ह्वाइट कलर जब’ भनेर प्रख्यात बैंकिङ क्षेत्रकै कर्मचारी अहिले ब्यापक मात्रामा विदेश पलायन हुन थालेपछि वित्तीय क्षेत्रमा केही समययता चिन्ता जनाउन थालिएको थियो । बैंकको जागि छाड्दै विदेश जाने परिपाटी बढेकोप्रति बरिष्ठ बैंकरहरु नै पनि चिन्तित देखिन थालेका थिए । यही परिवेशमा गभर्नरले बैंकरसामु चासो व्यक्त गरेका हुन् ।

‘बैंकहरुले शनिबार पनि कर्मचारीलाई लदाउने (जबरजस्ति काम गर्न बाध्य पार्ने) मा काम गरे’ उनले भने, ‘काममा बढी घोटाइयो, तर कर्मचारीलाई पढाइएन । उनीहरुलाई तालिम कम भयो ।’ बैंकहरुले कर्मचारीको बृत्ति विकासमा खर्च गर्ने र उनीहरुको क्षमता अभिबृद्धि गराउनुको साटो बढी दोहन गर्न खोज्दा वित्तीय क्षेत्रबाट कर्मचारी पलायन हुन थालेको उनले बताए ।

उनले राष्ट्र बैंकको प्राथमिकता नै वित्तीय क्षेत्रलाई प्रभावकारी बनाउने तर्क भएको दोहोराए । पछिल्लो समय वित्तीय सेवामा ब्यापक सुधार भएको भन्दै उनले केही आँकडाहरु पनि प्रस्तुत गरे । ‘अहिले नेपालमा डिजिटल भुक्तानीमा ठूलो सुधार भएको छ’ उनले भने, ‘२ करोड १० लाख बैंक खाताहरु मोबाइल बैंकिङमा आबद्ध छन् । यो संख्या देशको कुल जनसंख्याको ७३ प्रतिशत बराबर हो ।’

गालि खानु परेकोमा आश्चर्य !

गभर्नर अधिकारीले अहिले नेपाली बैंकिङ क्षेत्र र राष्ट्र बैंकले गालि खानु परेकोमा आफू आश्चर्यमा परेको बताएका छन् । ‘बैंकिङ क्षेत्रले किन गालि खाइरहेको छ, मैले बुझेको छैन’ उनले भने, ‘बैंकलाई कहिले मिटरब्याजी भनेको छ, कहिले सामन्ती भनेको छ ।’

उनले नेपालमा बैंकहरुले लिने सेवा शुल्क छिकेमी देशहरुको तुलनामा ज्यादै कम भएको बताए । यसमा बैंकहरुले आफ्ना ग्राहकलाई सेवाबारे बुझाउन नसकेका कारण पनि बाहिर भ्रम उत्पन्न भएको गभर्नरले बताएका छन् । ‘के बैंकहरुले साँच्चै बढी कमाएका हुन् त ?’ उनले थपे ।

उनले एकै व्यक्तिले भिन्नभिन्न बैंकमा खाता खोल्दा बैंकैपिच्छे ग्राहक पहिचान (केवाईसी) फारम भर्नु नपर्ने सुविधा दिन लागिएको बताए । यसबाट खाता सञ्चालनका लागि ग्राहकलाई निकै सहज हुने गभर्नरको बुझाइ छ ।

सुधारोन्मुख अर्थतन्त्र

गभर्नर अधिकारीले अहिले नेपाली अर्थतन्त्र दक्षिण एसियामै माथिल्लो स्तरमा रहेको दाबी गरेका छन् । नेपालसँग अहिले १३ महिनाको आयात धान्ने विदेशी मुद्रा रहेको भन्दै यो स्तरको विदेशी विनिमय सञ्चिति यस क्षेत्रका कुनै पनि देशसँग नभएको उनले बताए ।

अहिलेको विषम परिस्थितिमा पनि बैंकहरुको खराब कर्जालाई नियन्त्रण गर्न सकिएको उनले सुनाए । कतिपय बैंकलाई लाभांश बाँड्नै नमिल्ने गरी ब्यापकमात्रामा प्रोभिजन बढाएपछि वास्तविक खराब कर्जाको आकार घटेको उनको बुझाइ छ । ‘अहिले बैंकिङ क्षेत्रको खुद निष्कृय कर्जा दर डेढ प्रतिशतमात्रै हो’ उनले भने ।

राजस्व घटेको र सामाजिक सुरक्षामा राज्यको खर्च बढेका कारण वित्त नीतिमा केही असहजता उत्पन्न भएको उनले बताए । त्यसबाहेक अर्थतन्त्रका अन्य आयामहरु सशक्त हालतमा फर्किसकेको गभर्नरको भनाइ छ । उनले अहिले बजारमा तरलता बढेर एकै समयमा ७२ अर्ब रुपैयाँ राष्ट्र बैंकले तानेर राख्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । ‘त्यो पैसा बजारमा गएर उत्पादनमा सहयोग गरोस् भन्ने हाम्रो चाहना छ’ उनले भने ।

यद्यपि, सहुलियतपूर्ण कर्जाका हकमा भने गभर्नर नरम देखिएनन् । उनले ‘सहुलियतपूर्ण कर्जा कसलाई आवस्यक हो भनेर पहिचान गर्नमा बैंकहरु चुकेको’ बताए । ‘बैंकहरुले यसको सही सदुपयोग गर्न सक्नु भएन’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्