एक लाख ३३ हजारको हातमा सहुलियतपूर्ण कर्जा, ठूला बैंकले बाँडे बढी खुद्रा ऋण
काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकले फाइनान्स कम्पनीहरुभन्दा पनि ठूला बाणिज्य बैंकले बढ्ता खुद्रा कर्जा वितरण गरेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गरेका सहुलियतपूर्ण कर्जाको आँकडाले यस्तो देखाएको हो ।
केन्द्रिय बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी २०७५’ अनुसार यस किसिमको कर्जा प्रबद्र्धन गर्दै आएको छ । अहिले बाणिज्य बैंकहरुले गाउँगाउँमा शाखा विस्तार गरेका कारण उनीहरुले सहुलियतपूर्ण कर्जामा ज्यादातर ‘कम रकम’का ऋण लगानी गरेको देखिएको हो ।
राष्ट्र बैंकको पुस मसान्तको तथ्यांकअनुसार बाणिज्य बैंकहरुले प्रतिऋणी औसत १६ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकी, फाइनान्स कम्पनीहरुले प्रतिग्राहक १६ लाख ७६ हजारभन्दा धेरै लगानी गरेका छन् । विकास बैंकहरुले प्रतिग्राहक १४ लाख ८७ हजार र लघुवित्त वित्तीय संस्थाहरुले ९ लाख ३६ हजार रुपैयाँमा कर्जा लगानी गरेका छन् ।
उठ्नबाँकी ऋणको हिस्सा पनि फाइनान्स कम्पनी र बाणिज्य बैंकहरुकै बढी छ । बाणिज्य बैंकले १ खर्ब ८५ अर्ब लगानी गरेकोमा त्यसको ७३ प्रतिशत अर्थात् १ खर्ब ३५ अर्बभन्दा धेरै पैसा उठ्न बाँकी छ । विकास बैंकहरुले २६ अर्ब २० करोड लगानी गरेकोमा १७ अर्ब ५९ करोड उठ्न बाँकी छ । यो भनेको कुल लगानीको ६७ प्रतिशत हो ।
फाइनान्स कम्पनीहरुले भने जम्मा ३ अर्ब लगानी गरेकोमा २ अर्ब ३० करोडभन्दा धेरै रकम उठ्न बाँकी छ । यो करीब ७५ प्रतिशत बाँकी रहेको आँकडा हो । लघुवित्त संस्थाहरुले यसप्रकारको ऋण ज्यादै कम दिएका छन् । उनीहरुले जम्मा ८४ जनालाई ७ करोड ८६ लाख कर्जा प्रवाह गरेकोमा अब ५ करोड २० लाखमात्रै उठाउन बाँकी छ ।
यस प्रकारको सहुलियतपूर्ण ऋण प्रवाहमा बाणिज्य बैंकलेमात्रै कुल ऋणको ८६.३३ प्रतिशत प्रवाह गरेका छन् । विकास बैंकले १२.२०, फाइनान्स कम्पनीहरुले १.४४ र लघुवित्त वित्तीय संस्थाहरुले ०.०५ प्रतिशत कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले व्यावसायिक कृषि, युवा स्वरोजगार, महिला उद्यमी, दलित समुदायका व्यवसायी, प्राविधिक शिक्षा, भूकम्प पीडित, कपडा उद्योगी र प्राविधिक तालिमकेन्द्रहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।
गत पुस मसान्तसम्म प्रवाह भएको सहुलियतपूर्ण कर्जाका (रकम रू. हजारमा)