उच्च लाभांश दिने हैसियतमा एभरेष्ट: सेयरधनी निराश बनाउने हालतमा अधिकांश बैंकहरु, कसको क्षमता कति ? « Arthapath.com
१० बैशाख २०८१, सोमबार

उच्च लाभांश दिने हैसियतमा एभरेष्ट: सेयरधनी निराश बनाउने हालतमा अधिकांश बैंकहरु, कसको क्षमता कति ?



काठमाडौं । यो वर्षको मुनाफाबाट एभरेष्ट बैंकले सर्वाधिक लाभांश दिन सक्ने क्षमता बनाएको छ । चालु आर्थिक वर्षको मुनाफाबाट बैंकले साढे २३ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ ।

बैंकहले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा एभरेष्टले २ अर्ब ७५करोड ११ लाख २९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ । यसका आधारमा बैंकले आफ्ना लगानीकर्तालाई २३.३७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको हो । समिक्षा अवधिमा एभरेष्टले २ अर्ब ६० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्ट बैंकले आगामी वर्ष सर्वाधिक लाभांश दिनेको पहिलो सूचीमा पर्नेछ।

यता, तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि १९.२७ प्रतिशत लाभांश दिन सक्ने वितरणयोग्य नाफा आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ छ ।

समिक्षा अवधिमा नेपाल एसबिआई बैंकले चुक्ता पुँजीको ८.२४ प्रतिशत, कृषि विकास बैंकले ५.९७ प्रतिशत, नबिल बैंकले ५.७१ प्रतिशत, सानिमा बैंकले ५.५७ लाभांश दिन सक्ने क्षमता बनाएका छन् ।

तेस्रो त्रैमासमा ४ वटा बैंकहरुले न्यून लाभांश क्षमतामा देखिन्छ । वितरणयोग्य नाफा धनात्मक भए पनि प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र सिटिजन्स बैंक न्युन लाभांश क्षमतामा छन् । उनीहरुको हालको नाफाले उल्लेख्य रुपमा लाभांश बाँडन पर्याप्त नहुने देखिएको छ । हाल यी बैंकहरुले चुक्ता पुँजीको क्रमशः १.६१ प्रतिशत, १.५७ प्रतिशत, ०.७ प्रतिशत र ०.१३ प्रतिशत लाभांश दिन सक्ने अवस्था छन् ।

तेस्रो त्रैमासमा झन्डै एक दर्जन बैंकहरुको लाभांश क्षमता नै ऋणात्मक छ, अर्थात् उनीहरुले यो वर्ष लाभांश बाँड्न नसक्ने अवस्थामा देखिएका छन् । आगामी वर्षमा अधिकांश बैंकका सेयरधनीहरुको हात खाली हुने देखिएको छ । समिक्षा अवधिमा ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन लगायतका १० वटा बैंकहरुको वितरणयोग्य मुनाफामा ऋणात्मक छ ।

चैत मसान्तसम्म आइपुग्दा हिमालय बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २४ करोड २८ लाख रुपैयाँ, कुमारी बैंक ४ अर्ब २० करोड ५२ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा ५ अर्ब ८ करोड १६ लाख, एनआइसी एशिया १ अर्ब ७२ करोड ५६ लाख, नेपाल बैंक १ अर्ब ०४ करोड ७० लाख र लक्ष्मी सनराइज बैंक १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ । हाललाई यी बैंकहरुले आफ्ना लगानीकर्तालाई निराश बनाउने हालतमा देखिन्छन् ।

यता, माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा पनि ३० करोड ५६ लाख, एनएमबि बैंकको ४२ करोड ९२ लाख, सिद्धार्थको २७ करोड ९२ लाख र ग्लोबल आइएमईको ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ ।

कुन बैंकको लाभांश कति ?


प्रतिक्रिया दिनुहोस्