प्रकोपलाई देखाएर ब्याज तिर्ने म्याद एक महिना लम्ब्याउन बैंकरको लबिङ, के गर्ला राष्ट्र बैंक ? « Arthapath.com
१५ आश्विन २०८१, मंगलवार

प्रकोपलाई देखाएर ब्याज तिर्ने म्याद एक महिना लम्ब्याउन बैंकरको लबिङ, के गर्ला राष्ट्र बैंक ?



काठमाडौँ । केही दिनयता आएको बाढी, पहिरो र डुबानका कारण अर्थतन्त्रमा गम्भीर क्षति पुगेको भन्दै नेपाल बैंकर्स संघले राष्ट्र बैंकसँग विशेष सुविधा माग गर्ने भएको छ । संघले लिखित रुपमै केन्द्रिय बैंकसँग असोज मसान्तमा तिर्नुपर्ने बैंकको ब्याज तथा किस्ता तिर्ने म्याद थप्न आग्रह गर्ने भएको हो ।

‘अहिले ब्याज तिर भनेर ऋणीलाई फोन गर्नै अप्ठ्यारो भयो’, एक बैंकरले भने, ‘कतिपयको स्टक नै डुबाएको छ । रक्सीका बोत्तल बाढीले बगाएको छ । धान–चामल बगाएको छ । जलविद्युत् आयोजनाहरुमा त्यस्तै रुवाबासी छ ।’

प्राकृतिक प्रकोपका कारण जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति भएको विवरणहरु आइरहेका छन् । बीमाले यस्तो खर्च थेग्ने संभावना न्यून रहेको बैंकर बताउँछन् । ‘बीमाले त १०० रुपैयाँ क्षति भयो भने एक वर्षसम्म रोइ–कराई गर्दा बल्लतल्ल २०–३० रुपैयाँ दिन्छ’, ती बैंकर भन्छन्, ‘त्यो (बीमा कम्पनी) पनि त कमाउनै बसेको त हो नि ।’

बैंकरहरुले असोन मसान्तमा तिर्नुपर्ने ब्याज तथा किस्ताको भुक्तानी कात्तिक मसान्तसम्म तिर्न सक्ने गरी भाखा सार्ने सुविधा दिन केन्द्रिय बैंकसँग माग गर्ने भएको हो । यसका लागि बैंकर्स संघले गभर्नरको समय लिइसकेको छ । त्यस कारण लिखित रुपमा आफ्नो माग बुझाउने तयारी गरेको छ ।

बैंकरका अनुसार बाढी पहिरोका कारण यतिधेरै जनधनको क्षति भएको र अर्कातिर नजिकै दशैँ आएका कारण पनि व्यवसायीलाई पैसा जुटाउन समस्या पर्ने देखिएको छ । यही कारण बैंकहरुले एक महिना थप समय माग्न लागेका हुन् ।

जलविद्युत् आयोजनाहरुले नेपाली बैंकिङ प्रणालीको ठूलो कर्जा उपयोग गरिरहेको छ । हालसम्म २६ वटा जलविद्युत् आयोजनामा बाढी पहिरोले क्षति पुगेको विवरणहरु आएका छन् । त्यसमा पनि आयोजना अनुसार कुनैमा कम र कुनैमा बढी क्षति भएको छ ।

देशभर बाढी पहिरोले कति क्षति भएको छ र त्यसले बैंकको ऋणलाई कत्तिको प्रभाव पार्छ भन्ने यकिन भइसकेको छैन । खासगरी नदी किनारमा रहेका भण्डारण गृहमा केही क्षति भएको देखिन्छ भने जलविद्युत् आयोजनाहरुले पनि बैंकको ब्याज तथा किस्तालाई असर पार्नसक्ने उनीहरुको अनुमान छ ।

यस्तो प्रकोपको बेलामा १ महिनामात्रै समय थपिदिने हो भने पनि निजी क्षेत्रलाई ब्याज तथा किस्ता भर्न सहज हुने बैंकरको भनाइ छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना भन्छन्, ‘अहिलेको अवस्थामा असोज महिनाको ब्याज तिर्ने अवधि कात्तिक सम्मलाई थपिदिनु उचित हुन्छ ।’

Tags :

प्रतिक्रिया दिनुहोस्